काठमाण्डु, ३ साउन– नेकपा एमालेको माधवकुमार नेपाल पक्षले उपाध्यक्ष भीम रावललाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिनुपर्ने सर्त अघि सारेको छ ।

नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीसमक्ष रावललाई कार्यवाहक दिनुपर्ने प्रस्ताव गरिसकेको छ । रावल नेपाल प्यालनबाट उपाध्यक्ष निर्वाचित भएका हुन् । स्रोतका अनुसार अध्यक्ष ओली भने अघिल्लो कार्यकालसमेत उपाध्यक्ष रहिसकेका बामदेव गौतमलाई कार्यबाहक दिने मनस्थितिमा छन् ।
ओली बिरामी भएका कारण एमालेमा कार्यबाहक अध्यक्षलाई दुवै पक्षले महत्व दिएको छ । यद्यपि शुक्रबार बसेको केन्द्रीय कमिटीको पहिलो बैठकले वरिष्ठतासम्बन्धमा आगामी बैठकबाट टुंगोमा पुग्ने निर्णय लिएको थियो ।
५ उपाध्यक्षमध्ये सबैभन्दा बढी मत ल्याएर जितेका कारण रावलले वरिष्ठ उपाध्यक्षसहित कार्यबाहक अध्यक्ष पाउनुपर्ने दाबी नेपाल पक्षको छ । यसै साता सम्पन्न एमालेको नवौं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनमा रावलले ११४३ मत ल्याएका थिए ।
अध्यक्ष उपाध्यक्षमा बामदेव गौतमले ११२४, विद्यादेवी भण्डारीले ११००, युवराज ज्ञवालीले १०६२ र अष्टलक्ष्मी शाक्यले १०४७ मत पाएका थिए । नेता नेपालका प्रेस सल्लाहकार तथा युवा नेता विष्णु रिजालले रावललाई कार्यबाहक दिनुपर्ने सर्त अघि सारिएको जानकारी काठमाण्डु टुडेलाई दिए ।
‘भीम रावलले उपाध्यक्षमा सबैभन्दा धेरै मत ल्याएर जित्नुभएको हो’, रिजालले भने, ‘कार्यकर्ताबाट पाएको भोटिङका आधारमा वरिष्ठता तोकिनुपर्छ भन्ने हाम्रो कुरा हो ।’ वरिष्ठताको सबैभन्दा उपयुक्त आधार कार्यकर्ताको मत भएको दाबी नेपाल पक्षको छ ।
‘बढी भोट ल्याएकै कारण अध्यक्षमा केपी ओली र महासचिवमा ईश्वर पोखरेल महासचिवमा निर्वाचित हुने, तर उपाध्यक्षमा बढी भोट ल्याउने भीम रावलभन्दा अरु नै वरिष्ठ हुने कुरा आउँदैन, कार्यकर्ताको आदेश सबैले मान्नुपर्छ’, रिजालले भने ।
पदाधिकारीमा १४ मध्ये सात पदमा जित हासिल गरेको नेपाल पक्ष अध्यक्षमा नेपाललाई जिताउन नसकेको क्षतिपूर्ति रावललाई कार्यबाहक अध्यक्ष बनाएर असुल्ने दाउमा छ ।