काठमाण्डु, ३ साउन– कृषि तथा सहकारीमन्त्री हरिप्रसाद पराजुलीले आगामी माघ ८ पछि एमाले अध्यक्ष केपी शर्मा ओली मुलुकको प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।
रिपोर्टर्स क्लबले शनिबार गरेको साक्षात्कारमा उनले माघ ८ मा सविधान बनेपछि ओली प्रधानमन्त्री बन्ने दाबी गरेका हुन् । उनले यसपटक सरकारले किसानमुखी भएर कृषिका लागि योजना र बजेटको व्यवस्था गरेको दाबी गर्दै बजेट कार्यान्वयन भए मुलुकमा कृषि क्रान्ति हुने ठोकुवा गरे ।
कृषि क्षेत्र मुलुकको आर्थिक वृद्धिदर हासिल गर्ने आधार भएको भन्दै यसपटकको बजेटले कृषिको विकासमा ऐतिहासिक काम गर्ने विश्वास व्यक्त गरे । ‘यो बजेट कृषि क्रान्ति सम्पन्न गर्नका लागि कोशेढुँगा सावित हुनेछ’, उनले भने ।
मुलुक पुँजीवादी अवस्थामा प्रवेश गरेकाले अब कृषिसहित सबै क्षेत्रको विकास गरेर समाजवादमा पुग्नुपर्ने भन्दै बजेट मार्फत आफूहरुले कृषि क्षेत्रको समस्या पहिचान गरेर त्यसको समाधानको उपाय अवलम्बन गरेको बताए । पराजुलीले आफू पनि कृषिको विद्यार्थी भएको भन्दै कृषिको विकासका लागि आधुनिकीकरण र यान्त्रिकीकरणको पहुँच सबै किसानमा पुर्याउने दाबी समेत गरे ।
सीमान्तकृत जातिलाई विशेष अनुदान र किसान परिचयपत्र बनाएर बास्तविक किसानलाई अनुदान र ब्याज छुट दिने, आधुनिकीकरण र यान्त्रिकरणका लागि भन्सारमा छुट दिने लगायतका व्यवस्था गरेको उल्लेख गर्दै मन्त्री पराजुलीले यसले कृषि क्रान्ति ल्याउने दाबी गरे ।
मुनाफाका नाममा अधिक विषादी प्रयोग गरेर मानव स्वास्थ्यमा कसैलाई पनि खेलवाड गर्न नदिने स्पष्ट पार्दै आधुनिक प्रविधिको प्रयोग गरेर यस्तो कार्यको नियन्त्रण गर्ने दृढता व्यक्त गरे । कृषिको विकासम नयाँ नीति तथा कार्यक्रम लागू गर्नु मात्र ठूलो कुरा नभएको भन्दै कार्यन्वयनको पक्षमा सुदृढ गर्न सके कृषि क्रान्ति सम्पन्न गर्न सकिने विश्वास मन्त्री पराजुलीको थियो ।