काठमाण्डु,३ साउन – क्षमताभन्दा बढी कैदीबन्दी राखिएपछि जिल्ला कारागार सोलुखुम्बुमा रहेका कैदी/बन्दीहरु समस्यामा परेका छन् ।
पुरुषतर्फ २५ जनाको क्षमता भए पनि हाल ६१ जना बन्दी रहेका छन् । दस जनाको क्षमता भएको महिला बन्दीगृहमा भने नौ जनामात्रै रहेको छ । पुरुषका लागि बनाइएको स्थायी दुई कोठा र अस्थायी एक कोठामा खचाखच गरी बस्दा पनि नअटेपछि दुई कैदीबन्दीलाई भान्साकोठामा बस्न तथा सुत्न व्यवस्था गरिएको छ ।
विसं २०६४ मा निर्माण गरिएको उक्त भवनमा कैदीबन्दी त्यस समयमा क्षमताअनुसारकै भए पनि दिन प्रतिदिन बन्दीको सङ्ख्या वृद्धि भएपछि यस्तो समस्या आएको हो । ठाउँ साँघुरो भएकाले खाना खानसमेत कुर्नपर्ने बाध्यता रहेको छ । पछिल्लो समय असारको दोस्रो हप्तादेखि अहिलेसम्म नौ कैदीबन्दी थपिएकाले झन समस्या थपिएको निमित्त जेलर रुद्र सुवेदीले जानकारी दिए । कैदीको सङ्ख्या थपिँदै गएपछि पछिल्लो पटक विसं ०६८ मा एउटा अस्थायी कोठाको निर्माण गरिएको थियो ।
उक्त कारागारभित्र अब थप अस्थायी कोठा निर्माण गर्न खाली ठाउँ पनि नरहेकाले समस्या चर्को रहेको सुवेदीले बताउनुभयो । यसबारेमा सम्बन्धित निकायलाई जानकारी गराइए पनि सुनुवाइ हुने सङ्केत नदेखिएको सुवेदीको भनाइ छ । रासस