इलाम, ३ साउन । जिल्ला वन कार्यालयले वृक्षरोपण अभियानलाई प्राथमिकताका साथ तीव्रता दिएको छ । कार्यालयले गत आवमा साढे ३२ हेक्टर वन क्षेत्रमा वृक्षरोपण गरेको छ । कार्यालयको अनुदान सहयोगमा जिल्लाका विभिन्न क्षेत्रमा एक लाख ३३ हजार २०० विभिन्न प्रजातिका बिरुवा रोपिएका छन् ।
तेह्र हेक्टर सामुदायिक वनमा जडीबुटीखेती विस्तार गरेको छ । एक लाख ५० हजार अनुदान सहयोगमा चिराइतो, लोक्ता, लौठसल्ला, अर्गेली, तेजपात जडीबुटी रोपेको जिल्ला वन अधिकृत राजेन्द्र काफ्लेले जानकारी दिए ।
वार्षिक कार्यक्रमअनुसार कार्यालयले कालीखोप डढेली सामुदायिक वन उपभोक्ता समूह जोगमाई– २ र ३, पाथीभरा सामुदायिक वन उपभोक्ता समूह महमाई– ९ र सतासीधाम– ७ झापा, बरबोटे सामुदायिक वन उपभोक्ता समूह इरौंटार– ७, वसन्त सामुदायिक वन उपभोक्ता समूह लक्ष्मीपुर– ५, बगैँचा सेरो सामुदायिक वन उपभोक्ता समूह चिसापानी– ५, सिर्जना सामुदायिक वन उपभोक्ता समूह चिसापानी– ५, पाथीभरा सामुदायिक वन उपभोक्ता समूह चिसापानी– ५ र सुखानी सामुदायिक वन उपभोक्ता समूह दानाबारी– ३ मा वृक्षरोपण गरेको हो ।
यस्तैगरी चोयाटार सामुदायिक वन उपभोक्ता समूह जमुना, भेँडीचोक सामुदायिक वन उपभोक्ता समूह माईपोखरी, कहरे सामुदायिक वन उपभोक्ता समूह चमैता, बरबोटे सामुदायिक वन उपभोत्ता समूह इरौंटारमा जडीबुटी खेती गरिएको छ । कार्यालयले वन उपभोक्ता समूहको कबुलियत वन समूहमा पनि जडीबुटीखेतीका लागि अनुदान सहयोग गरेको छ ।
उपसमूहलाई प्रविधि हस्तान्तरण गर्नुका साथै आयमूलक कार्यक्रमसमेत गरेको छ । आयमूलक कार्यक्रमका लागि रु दुई लाख २० हजार कबुलियत सामुदायिक वन उपभोक्ता समूहलाई अनुदान सहयोग गरेको वन अधिकृत काफ्ले बताउनुहुन्छ । कबुलियत सामुदायिक वन उपभोक्ता समूहको झन्डै १० हेक्टर जमिनमा लोक्ता, अर्गेली, लौठसल्ला, चिराइतो, डाले घाँस, निवारो, गोगनलगायत बिरुवा रोपिएको छ ।
इलामको कुल क्षेत्रफलको आठ हजार ९२६ हेक्टर अर्थात् ४७ दशमलव २ सरकारी तथा सामुदायिक वन रहेको छ । जिल्लामा २४९ सामुदायिक वन उपभोक्ता समूह वन कार्यालयमा दर्ता भएकोमा २२२ समूहले वन संरक्षणको काम गरिरहेका छन् ।