इराकबाट एघार जना नेपालीको उद्धार

काठमाण्डु टुडे २०७१ साउन ३ गते १:५७ मा प्रकाशित

काठमाण्डु,३ साउन – सरकारले इराकमा जारी द्वन्द्वका कारण अलपत्र परेका ११ जना नेपालीलाई उद्धार गरेको छ । कुर्दिस्तान प्रान्तको एर्बिलका साथै किर्कुक र टिक्रिट सहरबाट उद्धार गरिएका उनीहरू आज राति राजधानी आइपुग्ने भएका छन् ।

केही दिनको प्रयासपछि उनीहरूलाई उद्धार गरी स्वदेश फर्काउन सफलता मिलेको बताउँदै परराष्ट्र मन्त्रालयले सरकारी खर्चमा उनीहरू घर फर्कने जनाएको छ ।

उद्धार गरिएकामध्ये निर्मलपोखरी कास्कीका सन्तोष लामिछाने, शारदानगर चितवनका प्रकाश विश्वकर्मा, कन्करी रुकुमका धनबहादुर बिक, मूलखर्क ओखलढुङ्का स्थायी वासन्दा जीतबहादुर तामाङ, हपुर र सिसहनिया दाङका टोपबहादुर बस्नेत र अनिलकुमार चौधरी, मोरङ बयरबन निवासी मोहनकुमार बस्नेत, निर्मलीडाँडा खोटाङका प्रकाश गिरि, सुकजोर रामेछाप स्थायी घर भएका विष्णुबहादुर बस्नेत तथा धनकुटाको खुवाफोकका सुवास मादी र इन्द्रकुमार लिम्बु छन् ।

इराकमा चर्केको सङ्र्षका कारण आपतमा परेका नेपालीहरूको उद्धार गर्न सरकारले परराष्ट्र मन्त्रीको प्रतिनिधिका रुपमा परराष्ट्र मन्त्रालयका सहसचिव अर्जुनकान्त मैनालीलाई खटाएको थियो भने इस्लामावादस्थित नेपाली दूतावासका नियोग उपप्रमुख तीर्थराज अर्याललाई इराक काज खटाएको थियो ।

वैदेशिक रोजगारीको सिलसिलामा नेपाली नागरिकलाई इराक जान सरकारले प्रतिबन्ध लगाएको भएपनि भारत र अन्य मुलुक भएर नेपाली त्यता जाने गरेका छन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us