सञ्चालक र सिइओ दुई कार्यकालभन्दा बढी हुन नसक्ने

काठमाण्डु टुडे २०७१ साउन २ गते १३:०९ मा प्रकाशित

काठमाण्डु , २ साउन – बैंक तथा वित्तीय संस्थामा अध्यक्ष, सञ्चालक, प्रमुख कार्यकारी अधिकृत(सिइओ) तथा प्रबन्ध सञ्चालक पदमा दुई पटकभन्दा बढी उक्त पदमा निर्वाचित, मनोनित वा नियुक्त हुन नसक्ने व्यवस्था गरिएको छ ।

नेपाल राष्ट्र बैंकद्वारा आज सार्वजनिक आर्थिक वर्ष २०७१–७२ को मौद्रिक नीतिले लामो समयसम्म एकै व्यक्ति संस्थानको नेतृत्वमा बस्दा संस्थागत सुशासन कमजोर हुने भएकाले यसै आर्थिक वर्षलाई आधारमानी उक्त नीति लिएको गभर्नर डा युवराज खतिवडाले बताए ।

उनले यदि कुनै पनि बैंक तथा वित्तीय संस्थाले नेतृत्व बारम्बार दोहो¥याएको भए आगामी आर्थिक वर्षभित्र नेपाल राष्ट्र बैंकलाई जानकारी गराउन अनुरोध गरे ।

त्यसैगरी बैंकका लगानीकर्ता÷संस्थापक र व्यवसायी÷ऋणीबीचको भिन्नता कायम गरी वित्तीय सुशासन कायम गर्ने क्रममा कुनै बैंक तथा वित्तीय संस्थाको सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतले आफ्नो अधिकांश स्वामित्वको कम्पनी÷फर्मको लागि बैंक कर्जा लिन नपाउने व्यवस्था नीतिमा उल्लेख छ ।

बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकले तोकेका मापदण्ड पूरा गरेको अवस्थामा नयाँ शाखा खोल्ने, शाखा गाभ्ने÷गाभिने तथा स्थानान्तरण गर्ने प्रक्रियालाई सरलीकरण गर्ने र ती संस्थाको संस्थापकको विभिन्न समूहमा वर्गीकरण हुने व्यवस्थाको अन्त्य गरी सबै संस्थापकलाई एकै समूहमा राख्ने नीति लिइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us