पार्टीमा अब गुटबन्दीको अभ्यास अन्त्य गरौं : ओली

काठमाण्डु टुडे २०७१ साउन २ गते १२:४९ मा प्रकाशित

काठमाण्डु , २ साउन – एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेमा अब गुटबन्दी सकिएको बताएका छन् ।

kp oliशुक्रबार बसेको नवनिर्वाचित पहिलो केन्द्रीय कमिटीको बैठकमा ओलीले एमालेलाई गुटविहीन पार्टी बनाएर असल अभ्यास गर्न सवै नेताहरुलाई आग्रह गरेका छन् ।

ओलीले निर्वाचनमा भएका समूहलाई आजदेखि नै अन्त्य गर्दै पार्टी एक भएको सन्देश दिन नेताहरुलाई आग्रह गरे । उनले भने , महाधिवेशनमा जे भएपिन अब ती सवै तीतामीठा बिर्सौं, पार्टीलाई एक बनाउन अध्यक्षका हैसियतले म भूमिका खेल्छु, तपाईंहरुको भूमिका पनि त्यस्तै हुनुपर्छ ।

ओलीले हारजीत बिर्सेर सबै नेताहरुलाई उचित जिम्मेवारी दिइने बताए ।

केन्द्रीय कमिटी बैठकले महाधिवेशनमा प्रस्तुत भएका दुई दस्तावेजमाथि प्राप्त सुझाव अध्ययन गर्न दुर्इटा समिति गठन गरेको छ ।

राजनीतिक प्रतिवेदन अध्ययन गर्न अध्यक्ष ओलीको संयोजकत्वमा उपाध्यक्षहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भूसाल, सचिव प्रदीप ज्ञवाली र केन्द्रीय सदस्यहरु शंकर पोखरेल र छविलाल विश्वकर्मा रहेको समिति गठन भएको छ ।

संगठनात्मक प्रतिवेदन र विधान संशोधन प्रतिवेदनमाथि अध्ययन गर्न महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिवहरु गोकर्ण विष्ट, योगेश भट्टराई तथा केन्द्रीय सदस्यहरु बेदुराम भूसाल, अग्नि खरेल र विन्दा पाण्डे सदस्य रहेको अर्को समिति गठन भएको छ ।

बैठकले साउन ७ गते पुष्पलाल स्मृति दिवसका दिन महाधिवेशनको सन्देश तल्लो कमिटीसम्म लैजान विविध कार्यक्रम गर्ने निर्णय गरेको छ ।

पहिलो बैठकमा नवनिर्वाचित केन्द्रीय कमिटीका सदस्यहरुबीच आपसी परिचय भएको एक नेताले जानकारी दिए ।

साउन २५ मा बस्ने अर्को बैठकले महाधिवेशनको समीक्षा, संसद र सरकारको कामको मूल्यांकन, स्थायी र पोलिट्ब्यूरो गठन, नेताहरुको मर्यादाक्रमलगायतका विषयमा छलफल हुने सचिवालयले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us