लुकाएर राखिएको ११ लाख ४३ हजार किलो चिनीे सिलबन्दी

काठमाण्डु टुडे २०७१ साउन २ गते १०:५९ मा प्रकाशित

भक्तपुर, २ साउन – मध्यपुरथिमि नगरपालिका–१४ स्थित स्पाइन्डिङ इन्डस्ट्रिज धागो उद्योगभित्र २२ हजार ८७० बोरा चिनी लुकाई राखिएको अवस्थामा भेटिएको छ ।

कालाबजारी गर्ने उद्देश्यले चिनी लुकाएको उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत उमेश दाहालको नेतृत्वमा गएको टोलीले ती चिनी अवैध भएको आशङ्कामा शुक्रबार सिलबन्दी गरेको हो ।

धागो कारखानाभित्र ११ लाख ४३ हजार ५०० किलो चिनी त्रिपालले छोपेर लुकाई राखिएको अवस्थामा भेटिएपछि अवैध भएको आशङ्कामा सिलबन्दी गरेको उनले बताए ।

उक्त चिनी महोत्तरीको शशिकान्त अर्यालको भएको बुझिएको बताउँदै उनले चिनी अवैध नभएको प्रमाणसहित प्रशासनमा हाजिर हुन आग्रह गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us