बैतडी, २ साउन – उदयदेव गाविसमा घर भत्किँदा दुईको मृत्यु भएको छ भने दुई बालबालिका घाइते भएका छन् ।
तीन दिनदेखि लगातार परेको वर्षाले उदयदेव गाविस वडा नं ७ सोलपलाका ७० वर्षीय आनसिंह महता र उनकी श्रीमती ६४ वर्षीया सुनादेवी महताको मृत्यु भएको प्रहरीले बताएको छ ।
उनीहरुसँगै रहेको चार वर्षीया नातिनी सपना महता र डेढ वर्षीय नाति विशाल घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक अनिल उप्रेतीले जानकारी दिए ।
घरको भान्सामा बसिरहेका बेला घर भत्किएपछि गम्भीर घाइते बनेका दुवै जनालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र मेलौली ल्याइँदै गर्दा बाटोमै मृत्यु भएको उनले बताए ।
मृतकहरुको टाउको र ढाडमा गम्भीर चोट लागेको थियो ।
घाइतेहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ । मृतकका शव परीक्षणका लागि जिल्ला अस्पताल बैतडी ल्याइँदै छ ।