अमेरिकी विदेशमन्त्रीलाई नेपालको हिमाल हेर्न आउन निम्तो

काठमाण्डु टुडे २०७१ साउन २ गते ८:०२ मा प्रकाशित

काठमाण्डु, २ साउन – सातै महादेशका सर्वोच्च शिखर आरोहण गर्ने अभियानका क्रममा उत्तर अमेरिकाको सर्वोच्च हिमाल डेनालीको हालै सफल आरोहण गरेका नेपाली महिला पवर्तारोही टोली र संयुक्तराज्य अमेरिकाका विदेशमन्त्री जोन केरीबीच बिहिबार ह्वाइट हाउसमा भेटवार्ता भएको छ ।

nepali-women-with-jon-keriभेटघाटमा टोलीलाई बधाई दिँदै महिला टोली प्रेरणादायी रहेको केरीले बताए । टोलीले गरिरहेको व्यापक विश्व भ्रमणबाट आफू लोभिएको तर आफूले त्यसो गर्न समय पाउन नसक्ने पनि उनले बताए ।

सगरमाथाबारे राम्रा जानकार मानिएका केरीले आफ्नी छोरी सगरमाथा आधार शिविरसम्म पुगेको पनि सहर्ष सुनाए । टोलीले उनलाई हिमाली अनुभवका लागि नेपाल भ्रमणको निम्तो दिएको छ ।

निम्तो स्वीकार्दै उनले नेपाल आउने आफ्नो लामो समयदेखिको सपना भएको र कार्यकाल सकिनुअघि नेपाल आउने चाहना व्यक्त गर्नुभएको टोली संयोजक शैली बस्नेतले वासिङ्टन डिसिबाट जनाएकी छिन् ।

सो भेटघाटमा संयुक्त राज्य अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत तथा नेपालका लागि अमेरिकी राजदूतलगायत स्टेट डिपार्टमेन्टका उच्च अधिकारीहरु सरिक थिए ।

सेभेन समिट महिला टोली हाल अमेरिकी स्टेट डिपार्टमेन्टको एकहप्ते कार्यक्रममा सहभागी छन्, जसमा टोलीले उच्च सरकारी अधिकारी र विविध सङ्घसंस्था भ्रमण गर्नेछन् । टोलीमा बस्नेतका साथै माया गुरुङ, निम्डोमा शेर्पा, चुनु श्रेष्ठ, पुजन आचार्य, आशाकुमारी सिंह सम्मिलित छन् ।

शिक्षा, महिला सशक्तीकरण र वातावरण संरक्षणको सन्देश बोकेको टोलीले हिमाल आरोहणका क्रममा विश्वका विभिन्न स्थानमा पुगी अनुभव आदान–प्रदान गर्ने गरेको छ । चालु अभियानअन्तर्गत टोलीको अन्तिम गन्तव्य आन्टार्टिका रहेको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us