हतियार तथा गोलीसहित पक्राउ

काठमाण्डु टुडे २०७१ साउन १ गते ११:४५ मा प्रकाशित

मनाङ, १ साउन – रुकुम जिल्ला हुकाम–९ घर भएका २५ बर्षीय नविन रोका मगर र रुकुम जाङ–९ बस्ने ३८ बर्षीय उजिर रोका मगरलाई प्रहरीले चाईनिज पेस्तोल १ थान, सोको म्याग्जिनमा लोड भएको गोली ८ राउण्ड, नाम नखुलको (एके ४७ जस्तो देखिने ) लामो हतियार १ थान, सोको म्याग्जिन र १८ राउण्ड गोली र कटुवा पेस्तोल १ थान तथा सोको म्याग्जिन सहितको गोली ८ राउण्ड सहित पक्राउ गरेको छ ।

सिमा प्रहरी चौकी धारापानीबाट खटिएको प्रहरी टोलीले बिहिबार धारापानी–५ स्थित चेक प्वाईन्टमा तिमाङबाट लम्जुङको बेशीशहरतर्फ जाँदै गरेको ६ जना यात्रु रहेको ग१ज ३०१ नम्वरको बलेरो जिप(भाडामा चल्ने) लाई चेकजाँच गर्दा उनीहरुको साथबाट उक्त हतियार र गोलीहरु बरामद भएको थियो ।

बरामद पेस्तोलमा लोड भएको गोली अनलोड गर्ने क्रममा अचानक पेस्तोल पड्कन जाँदा सिमा प्रहरी चौकी धारापानीमा कार्यरत प्रहरी जवान नन्द बहादुर खड्काको हातको पन्जामा गोली लागेर सामान्य घाइते भएकोले उपचारको लागि स्थानीय मेडिकलमा लगिएको छ ।

जीपमा रहेका अन्य फरार ४ जना व्यक्तिहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us