काठमाण्डु, १ साउन – संयुक्त राष्ट्रसङ्घका उपमहासचिव तथा शान्ति स्थापना विभागका प्रमुख हेर्भी लाड्सौस नेपालको दुईदिने औपचारिक भ्रमणमा आगामी सोमबार आउने भएका छन् ।
नेपालको पछिल्लो राजनीतिक अवस्था, संविधान लेखनका क्रममा भएका प्रगति तथा नेपाली सेना र सुरक्षा निकायको वस्तुस्थितिबारे जानकारी लिने उद्देश्यले सरकारको निमन्त्रणामा उपमहासचिव लाड्सौस भ्रमणमा आउन लागेका हुन् ।
भ्रमणका क्रममा उनले राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतम र परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
स्वास्थ्योपचारका सिलसिलामा हाल अमेरिकामा रहेका रक्षा मन्त्रालयको कार्यभारसमेत सम्हालेका प्रधानमन्त्री कोइराला उपमहासचिव लाड्सौसको भ्रमणका बेला स्वदेश आइसक्ने सम्भावना रहेको पनि मन्त्रालयले बताएको छ ।
परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले सोमबार आयोजना गर्ने ‘शान्ति कायमका परिवर्तित कार्यक्षेत्र र आयाममा नेपालको सहभागिता’ विषयक छलफल कार्यक्रमलाई प्रमुख वक्ताका रुपमा उपमहासचिव लाड्सौसले सम्बोधन गर्नेछन् भने सोही दिन नेपाली सेनाले पनि शान्ति सेनामा नेपाली सैन्यले गरेको योगदान, भावी योजना तथा रणनीतिबारे जानकारी गराउन बेग्लै अर्को कार्यक्रम गर्नेछ । कार्यक्रममा नेपाली सेनाका उच्च अधिकारीका साथै रक्षा, गृह र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू सहभागी हुनेछन् ।
शान्ति स्थापनासम्बन्धी राष्ट्रसङ्घीय प्रधान कार्यालय र कार्यक्षेत्रस्थित कार्यालयका उच्च ओहोदामा रहेर नेपालले विश्व शान्ति स्थापनाको राष्ट्रसङ्घीय प्रयासमा योगदान गर्दै आएको र शान्ति सेनामा सुरक्षाकर्मी परिचालन गर्ने १० मुलुकको उच्च सूचीमा नेपाल रहेकाले नीति निर्माण एवम् निर्णायक तहमा पनि नेपालको प्रतिनिधित्वको सुनिश्चितताका लागि सरकारले उपमहासचिव लाड्सौससँग अनुरोध गर्नेछ ।
सन् १९५८ देखि नेपाली सेनाले राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यमा योगदान गर्दै आएको छ । शान्ति सेनामा अधिक सेना पठाएर योगदान गर्ने मुलुकहरुको सूचीमा छैटौँ स्थानमा रहेको नेपालले विश्व शान्ति तथा सुरक्षा बहालीका लागि हालसम्म एक लाख भन्दा बढी सैनिक एवम् प्रहरी परिचालन गरिसकेको छ । हाल विश्वका विभिन्न ११ वटा राष्ट्रसङ्घीय शान्ति मिसनमा चार हजार ५०० को हाराहारीमा नेपाली सेना कार्यरत छन् ।
दक्षिण एसियाली राष्ट्र भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्काले पनि राष्ट्रसङ्घीय शान्ति मिसनमा सैनिक परिचालन गरेका छन् । रासस