द्वन्द्वपीडितको चाहना विपरीत बनाएका घर अलपत्र

काठमाण्डु टुडे २०७१ साउन १ गते ९:२६ मा प्रकाशित

कञ्चनपुर, १ साउन – कञ्चनपुरको पुनर्वास नगरपालिकामा घरबारविहीन द्वन्द्वपीडित परिवारका लागि सस्तो लागतमा निर्माण गरिएका घर अलपत्र परेका छन् ।

शान्ति तथा पुनर्निर्माण मन्त्रालयको द्वन्द्वोत्तर कार्यक्रमअन्तर्गत ३० लाखको लागतमा आव ०६९–७० मा ग्रामीण आवास कम्पनी लिमिटेड त्रिभुवनबस्तीले २५ वटा घर निर्माण गरेको थियो ।

बस्तीभन्दा टाढा सीमा क्षेत्रमा निर्माण गरिएका घरहरु असुरक्षित भएको भन्दै द्वन्द्वपीडित परिवार बस्न नआउँदा ती घर अलपत्र अवस्थामा रहेको ग्रामीण आवास कम्पनीका कर्मचारी कर्मजित राईले बताए ।
स्थान छनोटमा त्रुटि हुँदा बस्तीभन्दा टाढा र सीमा क्षेत्र नजिक जङ्गल हुँदा द्वन्द्वपीडित परिवारले ती घरमा बस्न नरुचाएका उनको भनाइ थियो ।

कैलालीका द्वन्द्वपीडित परिवारका लागि १३ र कञ्चनपुरका द्वन्द्वपीडित परिवारका लागि १२ वटा तीनकोठे बरन्डासहितका भूकम्प प्रतिरोधी घरहरु निर्माण गरिएका छन् । सवा एक कट्ठा जग्गामा बनेका प्रतिघरको लागत एक लाख ५६ हजार रहेको छ ।

द्वन्द्वपीडित परिवारलाई रु ७० हजार अनुदानमा निर्माण गरिएका घर उपलब्ध गराउने योजना कम्पनीको रहेको थियो ।

कैलाली जिल्ला प्रशासन कार्यालय र स्थानीय शान्ति समितिले निर्माण गरिएका घरमा बस्नका लागि द्वन्द्वपीडित परिवारको सिफारिस गरे पनि कञ्चनपुर जिल्ला प्रशासन कार्यालय र स्थानीय शान्ति समितिले हालसम्म द्वन्द्वपीडित परिवारको सिफारिससमेत नगरेको कर्मचारी राईले जानकारी दिए ।

ती घरमा बस्न द्वन्द्वपीडित परिवार नआएपछि कम्पनीले दश वटा घर सशस्त्र प्रहरीको सीमा सुरक्षा बललाई उपलब्ध गराउनका लागि कार्य अगाडि बढाएको छ । यसबारे विभागमा कागजी प्रक्रिया अगाडि बढाइएको कम्पनीका प्रमुख नागेश्वरप्रसाद चौधरीले बताए ।

यसैबीच, विपन्न, सुकुम्बासी, दलित र भूमिहीनका लागि सहरी विकास तथा सरसफाइ डिभिजन कार्यालय र आस्था प्रविधि केन्द्रको सहयोगमा निर्माण गरिएका ८१ वटा घर हस्तान्तरण गरिसकिएको उनले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us