राज्यको पुनःसंरचना र राज्य शक्तिको बाँडफाँड विषयमा दलहरु सहमतिनजिक

काठमाण्डु टुडे २०७१ साउन १ गते ९:१३ मा प्रकाशित

काठमाण्डु, १ साउन – अघिल्लो संविधानसभा विघटन भएको मुख्य कारकका विषयमा सहमतिमा पुग्न प्रमुख दलहरुबीचमा पुनः अनौपचारिक छलफल हुने भएको छ ।

राज्यको पुनःसंरचना र राज्य शक्तिको बाँडफाँड विषयमा दलहरुबीचमा सहमतिमा नपुग्दा अघिल्लो संविधानसभा विघटन भएको थियो । सोही विषयमा संविधानसभा, संवैधानिक राजनीतिक– संवाद तथा सहमति समितिको बिहिबारको बैठकमा सांसदहरुले आफ्नो धारणा राख्नेक्रम पहिलोचरणमा समाप्त भएको छ ।

समितिका सभापति डा. बाबुराम भट्टराईको अध्यक्षतामा सम्पन्न बैठकले सो विषयमा सहमति जुटाउन शीर्ष दलका शीर्ष नेताहरुसँग अनौपचारिक वार्ता तथा कुराकानी गरी सहमतिमा पुग्ने निर्णय गरेको हो । सो विषयमा सहमतिमा पुग्नका लागि तीन दिनको अनौपचारिक छलफलको समय पनि बैठकले तय गरेको छ ।

नेपाली काँग्रेस र नेकपा एमालेले सामथ्र्यका आधारमा सातदेखि एघारसम्म प्रदेश निर्माण गर्न सकिने धारणा सार्वजनिक गर्दै आएका छन् भने एमाओवादीको पहिचानका आधारमा एघारभन्दा बढी प्रदेश निर्माण हुनुपर्ने भनाइ रहेको छ ।

“अब राज्यको पुनःसंरचना र राज्य शक्तिको बाँडफाँडका विषयमा दलहरुबीचमा सहमतिमा पुग्न शीर्ष दलका शीर्ष नेताहरुसँग अनौपचारिक छलफल हुन्छ, त्यो छलफलमा सहमतिमा पुगेपछि समितिमा छलफल हुनेछ”, सांसद चन्द्र भण्डारीले सञ्चारकर्मीहरुलाई जानकारी दिए ।

छलफल गरी सहमतिमा पुग्नका लागि तीन दिनको समयसीमा तोकिएको र समितिको अगामी बस्ने बैठकले यस विषयमा सहमति जुटाउने उनले विश्वास व्यक्त गरे ।

आजको बैठकले विगतको संवैधानिक सहमतिले गरेका सहमतिलाई अगामी बैठकले स्वामित्व ग्रहण गर्दै अगाडि बढ्ने सहमति पनि गरेको संसद् सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो ।

निर्धारित समयभित्र नयाँ संविधान निर्माण गर्ने महत्वपूर्ण खुड्किलो र आधार सो निर्णयले गरेको उनको भनाइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us