एमाओवादी विकास विरोधी नभएकाले बजेट कार्यान्वयन हुन्छ : अर्थमन्त्री

काठमाण्डु टुडे २०७१ साउन १ गते ९:०४ मा प्रकाशित

काठमाण्डु, १ साउन – अर्थमन्त्री डा. रामशरण महतले पेश्की खर्च बजेट पारित हुने वित्तिकै आफूले बजेट कार्यान्वयनको लागि पहल थालिसकेकोले यस पटक सत प्रतिशत बजेट कार्यान्वयन हुने दावी गरेका छन् ।

RAMSHARAN MAHAT.docxरिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा उनले भने–मैले पेश्की खर्च विधेयक पास हुने वित्तिकै अर्थमन्त्रालयका उच्च अधिकारी र विभिन्न मन्त्रालयका उच्च अधिकारीहरुलाई तत्काल बजेट कार्यान्वयनको प्रक्रिया थाल्न निर्देशन दिईसकेको छु ।

यस पटक समयमै बजेट कार्यान्वयन हुन्छ ।

साक्षात्कारमा महतले बजेटलाई कार्यान्वयन गर्दै मुलुकमा लगानी भित्राएर आर्थिक क्रान्तिको प्रारम्भ गर्न बजेटसँगै दर्जनौ विधेयकहरु संसदमा प्रस्तुत गरेको भन्दै बजेट अनुमोदन भएपछि नेपालको समृद्धिको अभियान सुरु हुने ठोकुवा गरे ।

महतले भने –कार्यान्वयन गर्न नसके जस्तो सुकै राम्रो बजेट ल्याएर पनि केही हुँदैन । त्यसैले कार्यान्वयनकै लागि विधेयक र ‘टाईमबाउण्ड’सहित काम अघि बढाएको छु ।

उनले माओवादी विकास विरोधी नभएकोले विधेकमा अवरोध नगर्ने विश्वास ब्यक्त गर्दै बजेटसँगै यहि अधिवेशनबाट विधेयक पारित हुने बताए ।

बजेटले मुलुकको आर्थिक गति हिनताको अवस्थालाई समाप्त पारेर नयाँ गति दिने दावी गर्दै आर्थिक बृद्धिको लागि बजेटले लगानी भित्राउन बातावरण निर्माण गर्ने विश्वास ब्यक्त गरे ।

महतले बजेटले भौतिकपूर्वाधारको निर्माण गर्ने, आधुनिककरण र यान्त्रिकरणसँगै कृषि क्षेत्रलाई नयाँ जीवन दिने दावी गर्दै कृषिमा ब्याज घटाउने र सरकार जमानी बस्ने कुराले कृषि क्षेत्रलाई प्रतिष्पर्घी बनाउने विश्वास ब्यक्त गरे ।

उनले अब मुलुकमा आर्थिक क्रान्तिको सुरुवात हुने भन्दै बजेटको विषयमा रहेको विरोधलाई आफूले हिजोकै संसद बैठकमा जवाफ दिईसकेकोले अब बजेट पारित भएर कार्यान्वयन अघि बढ्ने बताए ।

महतले काँग्रेस उदारवादको पक्षपोषक भएकोले माओवादीसँग कुरा मिल्नै नसक्ने भन्दै मधेसको विकास काँग्रेसको सरकारको पालामा भन्दा बढी कसैले गर्न नसकेकोले मधेसी दलहरुले विरोध गर्नुको औचित्य नरहेको तर्क गरे ।

उनले भने– बाबुरामजी उदारवादको विरोध गर्नु हुन्छ तर उहाँले पनि उदारवादका प्रतिक विश्वबैंक र एसीयाली विकास बैंकसँग सहकार्य गर्नु भएकै हो ।

उनले संविधान र आर्थिक समृद्धिबाट कुनै पनि दल पछि नहट्ने विश्वास ब्यक्त गर्दै तोकिएकै समयमा संविधान जारी हुने ठोकुवा गरे ।

मुल्य बृद्धिको विषयमा भने उनले माग र आपूर्तिलाई नियन्त्रण गर्न सके मुल्य बृद्धि रोकिने भन्दै त्यसको लागि समेत काम थालेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us