आत्महत्याको नक्कल गर्दा १२ वर्षीय बालकको गयो ज्यान

काठमाण्डु टुडे २०७१ साउन १ गते ७:१४ मा प्रकाशित

सुन्दरीजल, १ साउन – छिमेकमा एक व्यक्तिले आत्महत्या गरेपछिको दृश्य हेर्न पुगेका कक्षा ५ मा अध्ययनरत एक बालकले बुधबार आफू बस्दै आएको घरमै झुन्डिएर आत्महत्या गरेका छन् ।

ओखलढुङ्गा जिल्ला कुहीभीर– ७ स्थायी घर भई हाल नयाँपाटी– ४ बस्दै आएका १२ वर्षीय सिद्धार्थ कोइरालाले बुधबार डेरा गरी बस्दै आएको उत्तम राईको घरको छतमा झुन्डिएर आत्महत्या गरेको महानगरीय प्रहरी वृत्त बौद्धले जानकारी दिएको छ ।

नयाँपाटीमै रहेको चण्डिकाश्वरी अङ्ग्रेजी माविमा अध्ययनरत कोइराला मङ्गलबार विद्यालय छुट्टी भएपछि नयाँपाटी– २ मा घर बनाई बस्दै आएका काभ्रेपलाञ्चोक जिल्ला मदनकुडारी– १ का स्थायी बासिन्दा ३५ वर्षीय बुद्धिलाल तामाङले घरमा झुन्डिएर आत्महत्या गरेको दृश्य हेर्न गएका थिए ।

झुन्डिएको हेरेर आएपछि यसरी पनि मरिन्छ र भन्दै आफन्तसित सोधेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक दामोदर दवाडीले जानकारी दिए । दुवैको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us