महरा भन्छन्, ‘एमालेमा ओली आए पनि ठीकै, नेपाल आए पनि ठीकै’

काठमाण्डु टुडे २०७१ असार १२ गते १७:१० मा प्रकाशित

तपाईंहरुको विराटनगर राष्ट्रिय सम्मेलनपछि पनि पार्टीले खासै गति लिएको देखिएन नि ?

kb maharaतपाईंले भनेको कुरा सही हो । विराटनगर राष्ट्रिय सम्मेलनअघि र त्यसपछि पनि पार्टीमा बहस चलिरहेको छ । यो बहसलाई मैले नकारात्मक रुपमा लिएको छैन । हाम्रो बहस नेपाली क्रान्तिका आगामी कार्यभार कसरी पूरा गर्ने भन्ने विषयमा  केन्द्रित छ ।

राजनीतिक क्रान्तिको एउटा हिस्सा हामीले जनयुद्धका माध्यमबाट पूरा गर्‍यौं । त्यसपछि वार्ता र संवादको प्रक्रियाद्वारा हामी एउटा अवस्थामा आएका छौं । खास गरी संविधान निर्माणको अवस्थामा आएका छौं । नयाँ संविधानमार्फत नेपाली क्रान्तिका बाँकी कार्यभार कसरी पूरा गर्ने भन्ने विषयमा हाम्रो बीचमा छलफल र बहस भइरहेका छन् । यही बहसका कारण पार्टीका कामकारबाही र गतिविधिहरु अवरुद्ध हुनुपर्ने अवस्था छैन र त्यो भएको पनि छैन । हाम्रो पार्टीको अहिलेको अवस्था भनेको गतिहीनताबाट गति लिन सुरु गरेको अवस्था हो । पहिले त गति नै थिएन ।

पार्टी ओरालो लागिरहेको थियो । पार्टी विसर्जनको अवस्थामा थियो । पार्टीका कमिटीहरु भद्धा भएका कारण बैठक नै हुन सक्थेन । कुनैकुनै जिल्ला कमिटीहरु चार सय/पाँच सय सम्मका थिए । बैठकै बस्न सक्ने अवस्था थिएन । केन्द्रीय कमिटी २ सय ७६ जनाको थियो । राष्ट्रिय सम्मेलनले कमसेकम संगठन निर्माणको काम सुरु गरेको छ । जिल्ला र राष्ट्रिय सम्मेलनले कमिटीहरु सानो बनाएको छ । पहिलो चरणमा प्रशिक्षण कार्यक्रम चलाइरहेका रहेका छौं । अर्को चरणमा जिल्ला कमिटीका बैठकहरु बसेर योजनाहरु बनाउँदै छन् । यसले विस्तारै पार्टीले गति लिएको देखाउँछ । तर पूरै ट्रयाक्मा आइसक्यो भन्ने दाबी म गर्दिन, तर प्रक्रिया भने सुरु भइसक्यो ।

शीर्ष नेतृत्वतहमा रहेकाहरुले नै सार्वजनिक रुपमा एकअर्को पक्षमाथि आरोप–प्रत्यारोप गर्ने काम भइरहेको छ, अनि कसरी पार्टीमा स्वच्च बहस चलेको दाबी गर्न सक्नु हुन्छ ?

कतिपय कुरा बाहिर मिडियामा आउँदा अलिकति ‘ट्वीस्ट’ भएर आउँछ । तर पार्टीभित्रको अवस्था भनेको स्वच्छ छलफल बहस नै भइरहेको अवस्था हो । एउटा कुरा के हो भने क्रान्तिकारी कम्युनिष्ट पार्टीभित्र जीवन्त छलफल हुन्छ । त्यो हिजो पनि थियो, आज पनि छ, भोलि पनि भइरहन्छ । छलफल र बहसबिना पार्टी चल्नै सक्दैन । कम्युनिष्ट पार्टी सौम्य र शान्त खालको हुँदैन । मैले सुरमै भनें नि पार्टीभित्र छलफल बहस पनि गर्दै जाने काम पनि गर्दै जाने कुरा नै सही कुरा हो । बहसले काम रोक्छ कि भनेर चिन्ना गर्ने कुरा सही हो । तर हाम्रो काम रोकिंदैन । उदाहरणका लागि जनयुद्धभन्दा पहिला पनि हाम्रो पार्टीभित्र छलफल बहस थियो । जनयुद्दको क्रममा पनि थियो । शान्ति प्रक्रियामा आएपछि पनि थियो र अहिले पनि छ । यो निरन्तर भइराख्ने प्रक्रिया हो । यसबाट हामी आत्तिनु पर्ने, धेरै चिन्ता गर्नुपर्ने अवस्था छैन । विचारमा छलफलै गर्न हुन्न भन्ने मान्यताले त पार्टीलाई झन गतिहीन बनाउने खतरा हुन्छ ।

त्यसैले बहसलाई मैले सकारात्मक रुपमा बुझेको छु । छलफल बहसद्वारा नै नयाँ ठाउँमा पुग्न सकिन्छ । पार्टी नयाँ दिशामा पनि जान्छ र क्रान्तिको बाटो पहिल्याउन पनि सकिन्छ ।

माओवादी आन्दोलन अहिले कुन  अवस्थामा छ ?

रणनीतिक रुपले हामीले प्रष्टै रुपले के भनेका छौं भने क्रान्तिका कार्यभारहरु पूरा भएका छैनन् । तर बाँकी कार्यभार पूरानै ढंगले पूरा गर्न सकिंदैन । नयाँ ढंगले अघि बढ्नुपर्छ । अहिले त्यसको टेक्ने आधार भनेको जनयुद्ध र जनआन्दोलनले जे राजनीतिक उपलब्धी हासिल गरेको छ त्यसलाई संस्थागत र समृद्ध गर्ने हो । त्यहाँ टेकेर अगाडि बढ्ने हाम्रो पोजिसन हो ।

तपाईं सुरुदेखि नै दुई माओवादीलाई एक बनाउने अभियानमा हुनुहुन्छ, एकता प्रंक्रिया कहाँ पुगेको छ ?

नेकपा–माओवादी मात्र होइन । खास गरेर माओवाद र माओविचार मान्ने शक्तिहरुका बीचमा कार्यगत एकताको तयारीमा छौं ।

तत्काल पार्टी एकता त सम्भव छैन । तर राजनीतिक एजेण्डाका आधारमा कार्यगत एकता हुने सम्भावना प्रवल छ । हामी तीनवटा समसामयिक मुद्धामा मिलेर जान खोजेका छौं । पहिलो राज्यद्वारा उत्पन्न गराइएका विकृति विसंगति, मूल्यवृद्धि, भनियमिताजस्ता विषय हुन् । दोस्रो भावी संविधानका अन्तर्वस्तुहरुमा साझा धारणा बनाएर अघि बढ्ने कुरामा हामी सहमति नजिक छौं । अर्को जनयुद्धको पृष्ठभूमिबाट आएका हाम्रो पार्टीसहित नेकपा–माओवादी, मातृका यादवजीले नेतृत्व गर्नुभएको नेकपा माओवादी, मणि थापाजीको क्रान्तिकारी कम्युनिष्ट पार्टी र जनआन्दोलनबाट आएको परि थापाजीहरुको नेकपा एकीकृत छन् ।

शान्ति प्रक्रियाका केही काम बाँकी छन् । त्यसका व्यवस्थापनमा देखिएका समस्याबारे साझा धारणा बनाएर जान खोजेका छौं । तपाईंहरुभित्रकै एउटा पक्षले मोहन वैद्यको नेतृत्वमा अलग्गै पार्टी निर्माण गर्नुभयो, छुट्टिने बेलामा वैचारिक–राजनीतिक रुपमा धेरै टाढाजस्तो देखिनुभएको थियो, अहिले के मिल्यो र एकताको कुरा गर्नुभएको ? हाम्रो बीचमा वैचारिक–राजनीतिक बहस त छँदैछन् । त्यसमा हामी मिलिसकेका छैनौं । त्यो सबै नमिलि पार्टी एकतै हुन्छ । क्रान्तिको राजनीतिक–वैचारिक कार्यदिशाबारे उहाँहरु र हाम्रो दृष्टिकोण भिन्दै छ । भविष्यमा छलफल गर्दै गएर पार्टी एकता गर्ने हामी दुवैथरिको लक्ष्य हो । अहिलेका तत्कालिन केही विषयमा मात्र हामी मिलेका छौं ।

संविधानसभाबाट संविधान बनाउने कि नबनाउने भन्ने विषयमा पार्टीभित्र दुई धार छ रे होइन ?

यो विल्कुल गलत कुरा हो । हामी संविधानसभाबाट संविधान बनाउन प्रतिबद्ध भएरै लागेका छौं । तर संविधान बनाउँदा जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धीहरु चाहिं गुम्नु हुँदैन भन्ने हाम्रो स्पष्ट अडान र मान्यता छ । जनताले स्थापित गरेका एजेण्डाहरु धरापमा नपरोस., राजनीति उल्टो दिशामा नजाओस् भन्ने कुरामा हामी सचेत छौं । त्यसमा बरु परम्परागत संसदीय पार्टीहरुसित हाम्रो मतभेद भएको साँचो हो । तर पार्टीभित्र कुनै विवाद छैन ।

तपाईंले काँग्रेस–एमालेसँग जतिसुकै विवाद र मतभेद रहेको भने पनि जनताहरु त एमाओवादी र काँग्रेस–एमालेबीचमा भिन्नता नै छैन भन्छन् नि ?

कतिपय व्यवहारिक कामकाजहरुमा त्यस्तो देखिएको होला । हामी अहिले शान्ति प्रक्रियामा छौं । काँग्रेस–एमालेसँगको सम्झौतामा अगाडि बढिरहेको सत्य कुरा हो । त्यसकारण कतिपय राजनीतिक एजेण्डामा सम्झौता गर्नुपरेका कारण मान्छेहरुले भिन्नता नदेखेका हुन सक्छन् । तर सैद्धान्तिक र राजनीतिक कार्यदिशाका आधारमा हामी धेरै टाढा औं । अहिलेकै संविधान निर्माणको प्रक्रियामा पनि उहाँहरु परम्परागत संसदीय व्यवस्थाभन्दा माथि उठ्ने स्थितिमा हुनुहुन्न । हामी परम्परागत संसदीय व्यवस्थाभन्दा अगाडि बढेर नेपाली समाजको रुपान्तरण गर्न चाहान्छौं ।

हाम्रो बीचमा यही कुरा नमिलेकै कारणले पहिलो संविधानसभाबाट संविधान जारी हुन नसकेको हो । अहिले पनि त्यो विषयमा बहस चलिरहेकै छ । तपाईं गति लिएको छ भन्नुहुन्छ तर भर्खरै चार क्षेत्रमा भएको उपनिर्वाचनमा पार्टीको अवस्था त पहिलो भन्दा खस्किएको देखियो ? समग्रमा हाम्रो मत केही घटेको त देखियो । त्यसले हाम्रो पार्टी अझै सुदृढ भएको छैन भन्ने पाइयो । तर यी चारवटै निर्वाचन क्षेत्रमा हामीले विजय हासिल गरेको होइन । सबै ठाउँमा घटेको पनि छैन । बर्दिया–१ मा हाम्रो पहिलाको भन्दा यसपटक बढी मत आएको छ । कतै बढेको छ, कतै घटेको छ । यसमा मुलुकको राजनीतिक समीकरणले पनि काम गरेको छ । सरकारको कामकारबाहीलाई कसरी हेर्नुभएको छ ? सरकारको कामकारबाही धिमा छ । यसले कुनै गति लिएको छैन । सरकारका घटकहरुकै बचीमा र सरकार चलाउने पार्टीभित्रै पनि कचिंगल छ । त्यही कारणले होला सरकारले गति लिएको छैन र गति लिने सम्भावना पनि म देख्दिन ।

एमालेको नवौं महाधिवेशन आउँदैछ, उसले महाधिवेशनबाट लिने निर्णयले राष्ट्रिय राजनीतिमा के प्रभाव पर्ला ?

एमाले यो देशको एउटा प्रमुख राजनीतिक शक्ति हो । त्यसलाई हामीले स्वीकार गरेकै छौं । तर एमालेको महाधिवेशनमा के हुन्छ, कसो हुन्छ भन्ने कुरा हाम्रो सरोकारको विषय होइन । हामीले देखेको के हो भने एमाले कम्युनिष्ट सिद्धान्तको जगमा निर्माण भएको पार्टी हो । यो महाधिवेशनबाट कता जान्छ ? कुन दिशा पकड् छ ? अग्रगामी राजनीतिक एजेण्डाका आधारमा अघि बढ्छ वा यथास्थितिवादको वरिपरि घुम्छ भन्ने कुरा नेपाली समाज र हामीले पनि चासोका साथ हेरेका छौं । महाधिवेशनले कस्तो दिशा कपड्छ कस्तो नेतृत्व चयन हुन्छ त्यसलाई हामीले चासोका साथ हेरिरहेका छौं ।

हामी चाहान्छौं एमाले नेपाली समाजको आर्थिक–सामाजिक रुपान्तरणका एजेण्डा लिएर अगाडि आओस् हामी यत्ति मात्र कामना गर्न चाहन्छौं ।

पाईहरुको हेटौंडा महाधिवेशनले पुँजिवादी क्रान्ति सम्पन्न भएको निष्कर्ष निकालेको थियो, एमालेको नवौं महाधिवेशनमा पेश गर्न तयार पारिएको दस्तावेजमा पनि त्यही कुरा छ भने दुई पार्टीबीचको भिन्नता के ?

एमालेले परम्परागत संसदीय व्यवस्थाभन्दा बाहिरबाट राजनीतिक निकास देखिरहेको छैन । हामीले त त्यो भन्दा निकै परको सपना देखेका छौं । त्यो भनेको समाजवाद हो । सैद्धान्तिक रुपमा हामी धेरै टाढा छौं । हामीले हेटौंडा महाधिवेशनमा भन्यौं कि देशमा पुँजिवादी क्रान्ति आफ्नै ढंगले सम्पन्न भयो । हाम्रो नेतृत्वमा होइन कि हामीसमेत भएको आन्दोलनको कारणबाट आफ्नै ढंगले त्यो सम्पन्न भयो । त्यही पुँजिवादी क्रान्तिले पनि आफ्ना केही लक्ष्य फत्ते गरिसकेको छैन । नेपाली समाजको आर्थिक, सामाजिक रुपान्तरणको काम बाँकी नै छन् । राष्ट्रिय स्वाधीनताको मुद्दा बाँकी नै छ । त्यसलाई पूरा गरेर समाजवादी क्रान्तिको बाटोमा अघि बढ्नुपर्छ भन्ने हाम्रो कुरा हो । उहाँहरु (एमाले) को त सबै पूरा भइसक्यो बाँकी केही छैन भन्नेजस्तो छ ।

अध्यक्षमा माधव नेपाल कि केपी ओली ?

त्यो त उहाँहरुको आन्तरिक मामिला हो । हामीले त्यसमा केही भन्न सक्दैनौं । भन्ने कुरा पनि आउँदैन । महाधिवशेनले जसलाई चुन्छ हामीले त त्यसैलाई मान्ने हो । त्यसमा हाम्रो सरोकार छैन र केही भन्नु पनि छैन ।

मालेको बुटवलमा भएको आठौं महाधिवेशन उदघाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा तपाईका पार्टी अध्यक्षले एमालेभित्रको दक्षिणपन्थीलाई परास्त गर्न क्रान्तिकारी शक्ति (झलनाथ खनालल ) लाई नेतृत्वमा ल्याउन कार्यकर्तालाई अपिल नै गर्नुभएको थियो । यसपटक तपाईंहरुको उम्मेदवार को त ?

मैले अघि नै भनें नि एमाले बास्तवमै मुलुक र जनताको सामाजिक, आर्थिक रुपान्तरणको एजेण्डामा अग्रगामी सोचका साथ जान सक्ने नेतृत्व आओस भन्ने हाम्रो चाहना हो । क्रान्तिकारी पार्टीकै रुपमा अगाडि आओस् भन्ने चाहना हो । तर त्यो दिशामा एमालेलाई लान सक्ने को हो त भन्ने कुरा अहिले हामी भन्न सक्दैनौं । पक्कै पनि तपाईंले भनेजस्तो एमालेको गत महाधिवेशनमा हाम्रो पार्टीले र अध्यक्षले त्यतिखेर झलनाथ खनाल तुलनात्मक रुपमा अग्रगामी विचार बोक्ने नेता भएकाले नेतृत्वमा आए हुन्थ्यो भनेकै हो । तर अहिले हामी केही भन्दैनौं ।

तर नेपाल र ओलीमध्ये को आउँदा राष्ट्रिय राजनीतिमा रहेका समस्या मसाधानका लागि सजिलो होलाजस्तो लाग्छ ?

त्यो पनि भन्न सकिंदैन । महाधिवेशनले के निर्णय गर्छ । त्यो एमालेका प्रतिनिधिहरुको जिम्मा हो । हाम्रो कामना मात्र हो कि अग्रगामी राजनीतिक विचारसहितको नेतृत्व र नीतिका साथ महाधिवेशन सफल होस् भन्ने कामना मात्र हामी गर्न सक्छौं ।

एमाले अध्यक्षका प्रत्यासी माधव नेपालले नेता ओलीलाई लक्षित गरेर एमालेमा डनवाद, धनवाद र गनवाद हाबी भएको भन्दै आउनुभएको छ, तपाईंलाई चाहिं त्यस्तो लाग्छ कि लाग्दैन ?

मैले अघि पनि भनें नि उहाँहरुको आन्तरिक राजनीतिमा हामी प्रवेश गर्न चाहन्नौं । अर्को पार्टीको आन्तरिक गतिविधिहरुका विषयमा कुनै टिप्पणी गर्दैनौं । सैद्धान्तिक रुपमा क्रान्तिकारी नीति र विचारका साथ एमाले अगाडि आओस् भन्ने कामनाबाहेक हामी केही गर्न सक्दैनौं ।

त्यसो भए नेपाल र ओलीमा को क्रान्तिकारी ?

त्यो पनि हामीले भन्ने कुरा भएन । उहाँहरुको पार्टीका महाधिवेशन प्रतिनिधिले निर्णय गर्ने कुरा हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us