अल जजिराका पत्रकारलाई क्षमादिन इजिप्टलाई विश्वव्यापी दबाब

काठमाण्डु टुडे २०७१ असार १० गते १२:०५ मा प्रकाशित

कायरो, १० असार – इजिप्टमा इराकी टेलिभिजन अल जजिराका पत्रकारहरुलाई इजिप्टको अदालतले जेल सजाय सुनाएको घटनाको व्यापक विरोध भएको छ ।

alzazeeraप्राप्त समाचारअनुसार इजिप्टको अदालतले गरेको सो निर्णयको विरोधगर्दै विश्वका देशहरुले ती पत्रकारहरुलाई क्षमादिन दबाब दिएका छन् ।

इजिप्टको एक अदालतले आइतबार अल जजिरा टेलिभिजनका तीन पत्रकारलाई सातदेखि दश वर्षको जेल सजाय सुनाएको थियो । सो सजायको विश्वव्यापी रुपमा विरोध भएको हो ।

इजिप्टमा बसेर पत्रकारिता गरिरहेका ती पत्रकारहरुलाई मुस्लिम बद्ररहुडको प्रचारप्रसार गरेको आरोपमा सो सजाय सुनाइएको हो । हाल सो दललाई इजिप्टको सरकारले प्रतिबन्ध लगाएको छ ।

उनीहरुको समाचार सम्प्रेषण गरेको र सो दलको पक्षमा झूठो समाचार सम्प्रेषण गरेको आरोप ती पत्रकारहरुमाथि लागाइएको जनाइएको छ ।

सजायका लागि डच र बेलायती पत्रकारलाई पनि सुनुवाईमा उपस्थित गराइएको थियो । तर उनीहरुलाई भने रिहा गरिएको बताइएको छ । सरकारले ती पत्रकारलाई पनि सजायको माग गरेका थिए ।
उनीहरुलाई विगत लामो समयदेखि नै थुनामा राखिएको थियो । उनीहरुलाई थुनामा राखिएको कोठा अध्यारो रहेको, राम्रोसँग बस्न र खानाका लागि पनि प्रबन्ध नगरिएको भन्दै त्यसको पनि अधिकारवादीहरुले विरोध गरेका छन् ।

इजिप्टमा सन् २०१३ को जुलाईमा इस्लामिक राष्ट्रपति मोहमद मोर्सीलाई अपदस्थ गरिएपछि उहाँका समर्थकमाथि भिषण दमन गरिएको छ । सोही दमनका साथै उनीहरुको विरोध प्रदर्शनको समाचार ती पत्रकारले बनाएका थिए ।

सजाय सुनाइएका पत्रकारहरुमा एक अस्ट्रेलियाली पत्रकार पेटेर गे्रस्टेसमेत रहेका बताइएको छ । ग्रेस्टे र इजिप्टका मोहमेद फाडेल फामीलाई सात वर्षको जेल सजाय सुनाइएको छ । त्यसैगरी अल जजिराका कार्यक्रम निर्माता बहेर मोहमेदलाई थप तीन वर्ष गरी दश वर्षको सजाय सुनाइएको छ ।

मोर्सी अपदस्थ भएदेखि हालसम्म सैनिक दमनका क्रममा मुुुस्लिम बद्ररहुडका एक हजार ४०० भन्दा बढी व्यक्तिको मृत्यु हुनुको साथै अन्य हजारौं पक्राउ परेका छन् । हाल इजिप्टमा स्वतन्त्र रुपमा समाचार सम्प्रेषण गर्न पनि प्रतिबन्ध लगाइएको छ ।

सो घटनाको विश्वव्यापी रुपमा विरोध भएको छ । साथै उनीहरुले इजिप्ट सरकारले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अपमान गरेको जनाएका छन् । समाचार लेखेकै आधारमा पत्रकारलाई दश÷दश वर्षको जेल सजाय दिनु नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हनन हो भनिएको छ ।

 अष्ट्रेलियाले सो घटनालाई दुःखद भनेको छ । उसले यस्ता कारणले पत्रकारलाई जेल सजाय सुनाउनु घोर आपत्तिजनक छ भनेको छ ।

अष्ट्रेलियाली विदेश मन्त्री जुलिया विशपले सो घटना पूर्णरुपमा राजनीतिबाट प्रेरित हो भन्दै यस सजायलाई तत्कालै उल्टाउनका लागि इजिप्टका राष्ट्रपतिसँग आफूले कुराकानी गर्ने बताए ।

त्यसैगरी अमेरिकी विदेशमन्त्री जोन केरीले पनि सो कारबाही घोर अन्यायपूर्ण रहेको भन्दै यसलाई तत्कालै हस्तक्षेप गरी ती पत्रकारलाई रिहा गर्नका लागि आफूले त्यहाँका राष्ट्रपतिसँग कुराकानी गर्ने जानकारी दिए ।

यस घटनाको विश्वका मानवअधिकारवादी संघसंस्थाहरुका साथै प्रेस स्वतन्त्रता र सूचनाको हकमा कामगर्ने संघसंस्थाहरुले पनि विरोध गरेका छन् । उनीहरुले ती पत्रकारलाई तत्कालै रिहा गर्न आग्रह पनि गरेका छन् । एएफपी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us