बिरामी प्रधानमन्त्रीले भने ‘आफ्नो भन्दा देशको चिन्ता छ ’

काठमाण्डु टुडे २०७१ असार १० गते १:३० मा प्रकाशित

sushil koiralaकाठमाण्डु, १० असार –पाइजामा पहिरिएका प्रधानमन्त्री सुशील कोइरालाको मलिन अनुहार पर्याप्त थियो उनको अस्वस्थता दर्शाउन ।

गत शुक्रबार ‘बायोस्पी’ लगायत अन्य परिक्षणहरुपछि त ७५ वर्षीय कोइराला झनै थकित देखिन्थे । उनका अंगरक्षक धेरै कुराकानी नगर्न ईशारा गर्दै थिए । ‘कस्तो छ तपाईको स्वास्थ्य स्थिति ’ भन्ने शुरुवाती प्रश्नमा कोइरालाले भने, ‘हेल्थबारे सबै कुरा बाहिर आइसकेको छ ।

देशको राजनीतिबारे सोध्नुस् । मेरो स्वास्थ्यको चिन्ता छैन, देशको स्वास्थ्यको चिन्ता छ ।’ अमेरिकास्थित नेपाली पत्रकारहरुसँगको भेटमा आइतबार कोइरालाले स्वास्थ्यबारे बोल्न अनिच्छा जनाउँदा जनाउँदै अघिल्लो रात लगातार खोकी लागेर सुत्न गाह्रो भएको भने बताए ।

रगत तानिएको दाहिने हातको नाडीको रातो डाम देखाउँदै भने, ‘डाक्टरले परिक्षण गरिरहेका छन्, रिपोर्ट केही दिनमा आउँछ ।’ आफनो स्वास्थ्य स्थितिले सरकारको कामकारवाहीमा फरक नपारेको कोइरालाको भनाइ थियो ।

उनको कथन थियो, ‘सरकार चलिरहेको छ । चल्छ । बामदेवजी हुनुहुन्छ ।’ मेलमिलाप र सहमतिको राजनीतिको विकल्प नभएको तर्क गरेका प्रधानमन्त्रीले धेरै संघीय राज्य मुलुकले धान्न नसक्ने धारणा राखे । ‘पहिले हामीले पाँच प्रदेश भन्यौं ।

अहिले एमाले र हामीबीच सातवटामा एकखाले सहमती भएको छ’, उनले भने । यद्यपि, कोइरालाले संघीयतासम्बन्धी बिषयलाई कसरी टुङ्गयाउने भन्नेबारे सहमतिबाट उपाय खोजिने बताए ।

एक अर्को प्रश्नमा उनले विवादित बिषयमा सहमती नभए मतदानबाट भए पनि संविधान निर्माणको बाटो खोलिने प्रतिबद्वता जनाए । उनले भने, ‘शान्ति, स्थायित्व, लोकतन्त्र, लोकतान्त्रिक संविधान, विकास मेरा प्राथमिकता हुन्, यसमा कम्प्रमाइज हुँदैन ।’आजको कान्तिपुर दैनिकमा खबर छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us