माधव नेपालका कारण गुमायो एमालेले काठमाण्डु–२

काठमाण्डु टुडे २०७१ असार ९ गते १५:१६ मा प्रकाशित

काठमाण्डु, ९ असार– कम्युनिष्ट किल्लामा रुपमा रहेका काठमाण्डु–२ मा आइतबार भएको उपनिर्वाचनमा एमालेले पराजय ब्यहोर्‍यो ।
madhav 3४ मंसिरको संविधानसभा निर्वाचनमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल प्रतिद्वन्द्वभन्दा झण्डै ९ हजार बढी मत ल्याएर विजयी भएका थिए । उनले त्यतिबेला २० हजार ४ मत ल्याएका थिए भने निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी प्रतिमा गौतमको १२ हजार ४ सय ६९ मत ल्याएकी थिइन् ।

गृहजिल्ला रौतहटबाट समेत विजयी नेपालले काठमाण्डु–२ छाडेका हुन् । उपनिर्वाचनमा भने काँग्रेसका दीपक कुइँकेल १८ हजार २ सय मत ल्याएर विजयी भए । निकतम प्रतिद्वन्द्वी एमालेका कृष्णगोपाल श्रेष्ठ १३ हजार ४ सय २१ मतमा चित्त बुझाउन बाध्य भए ।

कम्युनिष्ट किल्लामा यसरी भयो काँग्रेसको उदय
काठमाण्डु–२ मा अहिलेसम्म भएका सबै निर्वाचनमा कम्युनिष्ट उम्मेदवारले जित्दै आएका थिए । २०६४ सालको संविधानसभा निर्वाचनअघि काठमाण्डु– १ मा रहेको सो क्षेत्रबाट
मदन भण्डारी, विद्यादेवी भण्डारी, नारायण ढकाल, प्रदीप नेपाल, झक्कुप्रसाद सुवेदी र माधव नेपालले जितेका थिए ।

एमालेका ‘टुरिष्ट उम्मेदवार’
एमाले उम्मेदवार कृष्णगोपाल श्रेष्ठ कामाण्डु कीर्तिपुरका स्थायी बासिन्दा हुन् । उनको घर क्षेत्र नम्बर नौमा पर्छ । २०६४ र गत मंसिरमा भएको संविधानसभा निर्वाचनमा दुवैपटक श्रेष्ठ काठमाण्डु–९ बाट उम्मेदवार बने र दुवैपटक काँग्रेसका ध्यानगोविन्द रञ्जितसँग पराजित भए ।

अर्को क्षेत्रबाट आएको हुनाले श्रेष्ठलाई काँग्रेसले ‘टुरिष्ट’ उम्मेदवारका रुपमा प्रचार गर्‍यो । काँग्रेसको प्रचारमा जनताले पनि विश्वास गरे । किनभने उनीहरुले अघिल्लो चुनावमा जिताएका माधव नेपालले उक्त क्षेत्र छाडे । स्थानीय प्रतिनिधि नहुँदा विकास निर्माणलगायतका काममा आफ्नो क्षेत्र पछि परेको महसुस उनीहरुले गरे र स्थानीय उम्मेदवार कुइँकेललाई मत दिए ।
श्रेष्ठलाई ल्याउनुको पछाडि माधव नेपालको स्वार्थ
उपत्यका समन्वय कमिटीका इन्चार्ज श्रेष्ठ नेता केपी ओली निकट मानिन्छन् । पार्टीका केही शीर्ष नेताले महासचिव ईश्वर पोखरेललाई उपनिर्वाचनमा उक्त क्षेत्रबाट उठाउन खोजेका थिए  । तर गत निर्वाचनमा पराजित भएका पोरखेलले उम्मेदवार हुन मानेनन् । ओलीले मणिराम फुयाँल र नवराज पराजुलीलाई उम्मेदवार बनाउन चाहेका थिए । माधव नेपालले मानेन ।

नेपालले उठाउन चाहेका नारायण ढकाल स्थानीय कमिटीबाट सिफारिसमै पर्न सकेनन् । ढकालको विकल्पमा नेपालले नै श्रेष्ठलाई अघि सारे । त्यसमा उनका केही निजी स्वार्थले काम गरेका छन् । नवौं महाधिवेशन नजिकिएका बेला आफ्नै पहलमा श्रेष्ठलाई उम्मेदवार बनाएर जित वा हार दुवै अवस्थामा श्रेष्ठले ओली क्यामप छाड्ने र त्यसको फाइदा आफूलाई पुग्ने अनुमानका आधारमा उनैले श्रेष्ठलाई उम्मेदवार बनाउन जोड गरे ।

त्यसमा उनी केही हदसम्म सफल भए पनि । श्रोतका अनुसार नेपालको जोडमा उम्मेदवार बनेपछि श्रेष्ठलाई पहिलेजस्तो विश्वास गर्न छाडेका छन् । उनको अर्को स्वार्थ पनि छ । स्थानीय उम्मेदवार खडा गरिएको अवस्थामा जितेको वा हारेको दुवै अवस्थामा उसले जरा गाड्ने र आफ्नो निवाससमेत रहेको उक्त क्षेत्रबाट बिदा हुनुपर्ने चिन्ताले उनमा  घर गर्‍यो । श्रेष्ठलाई भने जित वा हार दुवै अवस्थामा क्षेत्र नम्बर ९ को भनेर पाखा लगाउन सजिलो हुने हिसाब नेपालले गरे ।

हारबारे के भन्छन् कृष्णगोपाल उनकै शब्दमा
लोकतन्त्रमा विश्वास गर्नेले जित वा हारलाई स्वभाविक रुपमा लिन सक्नुपर्छ । मैले पनि यसलाई स्वभाविक रुपमा लिएको छु । चुनावको परिणाम स्वीकार गर्नुको विकल्प छैन । यसबारेमा मैले बोल्ने केही ठाउँ छैन । किनकी  लोकतन्त्रमा जनमतलाई विश्वास गर्नुपर्छ ।
जित्नका लागि पुग्ने मत नआएर हारियो, यो भन्दा केही नबोलौं । थप कुरा पछि गरौंला ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us