
काठमाण्डु, ३१ जेठ– रुसी समर्थक विद्रोहीले पूर्वी युक्रेनमा आकाशमा उडिरहेको सैनिक विमान गोली हानी खसालेका छन् ।
आक्रमणमा विमान पूरै खरानी भएको छ, भने त्यसमा सवार ४९ जना सैनिकको ज्यान गएको छ । अधिकारीहरुले सैनिक र सैन्य सामग्री रहेको विमानमा विद्रोहीले आक्रमण गरेपछि लुहान्स्क सहरमा
दुर्घटनाग्रस्त भएको बताएका छन् । सैनिक प्रवक्ता व्लादिस्लाव सेलेजनोवले मारिनेमा ४० सैनिक र ९ चालक दलका सदस्य रहेको बताएका छन् । युक्रेनमा विद्रोही सुरु भएयता विद्रोहीको आक्रमणमा भएको यो सबैभन्दा ठूलो मानवीय क्षति हो । पछिल्लो दुई महिनायता युक्रेनमा जारी हिंसामा कम्तिमा २ सय ७० जना मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
त्यहाँको रक्षा मन्त्रालयले आतंककारी समूहले निर्मम र विश्वासघाती ढंगले विमानमा आक्रमण गरेको प्रतिक्रिया दिएको छ । मन्त्रालयले आक्रमणमा मारिएकाहरुको परिवारप्रति समवेदना प्रकट गरेको छ ।