निजी उमावि – बेथिति नै बेथिति

काठमाण्डु टुडे २०७१ जेठ ३० गते २:२८ मा प्रकाशित

प्रकाश सिलवाल काठमाण्डु, ३० जेठ– दुर्गमका सामुदायिक विद्यालयमा विद्यार्थी न्यून हुनु अनौठो होइन तर काठमाडौँ उपत्यकाभित्रकै एक निजी (संस्थागत) विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून भएका कारण तीनवटा कक्षाका विद्यार्थीलाई एउटै कक्षाकोठामा राखेर पढाइएको पाइनु आश्चर्यको विषय हुन सक्छ ।

महाराजगन्जस्थित स्किम उच्चमावि–कलेजमा कक्षा १० मा १६ जना मात्र विद्यार्थी छन् भने कक्षा ३, ४ र ५ कक्षालाई एउटै कक्षाकोठामा राख्दा कुल १० जना विद्यार्थी पाउन पनि मुस्किल देखिन्छ । अहिले तीनवटै कक्षाका विद्यार्थीलाई एउटै कक्षाकोठामा राखेर पढाइएको छ ।

सो विद्यालयको कक्षा ११ मा विज्ञान र व्यवस्थापन गरी २४ जना मात्र विद्यार्थी छन् । सो उमाविले लाजिम्पाटमा सञ्चालन अनुमति लिएकामा नियमविपरीत महाराजगन्जमा कक्षा सञ्चालन गरिरहेको पनि पाइएको छ ।

उच्चमाध्यमिक शिक्षा परिषद्को अनुगमन टोली बिहीबार सो विद्यालयमा पुग्दा कक्षा १ देखि १२ सम्म सञ्चालन अनुमति पाएको सो ठाउँमा अधिकांश कक्षामा शून्य विद्यार्थी छन् । कक्षा १० मा भर्ना भइसकेका विद्यार्थी बीचमै अन्यत्र विद्यालयमा सार्न नमिल्ने भएकाले पनि सो कक्षा सञ्चालन गर्न विद्यालय विवश भएको पाइन्छ । किन यस्तो भयो ? विद्यालयका भाइस प्रिन्सिपल महेन्द्र लामाका अनुसार सञ्चालकबीचको विवाद र छिमेकी विद्यालयहरूको तीव्र प्रतिस्पर्धाका कारण सो विद्यालय धराशायी भएको हो ।

विद्यार्थी न्यून भएपछि शिक्षक र कर्मचारीको तलब पनि समयमा पाउन सकेका छैनन् । लामाले आफूहरुले बक्यौता नपाए चुप लागेर नबस्ने बताउनुभयो । विद्यार्थी न्यून भएको सो विद्यालयको सम्बन्धनका बारेमा थप अध्ययन हुने परिषद्का अनुगमन शाखाका प्रमुख डम्बरकुमार बतासले बताए ।

अनुगमनका क्रममा अधिकांश विद्यालयले ‘कलेज’को बोर्ड राखेको तर ‘उच्चमावि’ भनी बोर्ड नराखेको, छात्रवृत्तिका विद्यार्थीसँग रु २५ हजारसम्म रकम लिएको, कक्षा ११ को प्रवेश परीक्षाका लागि पनि गाइड बिक्री वितरण गरेको, स्वामित्व र प्राचार्य परिवर्तन गर्नुपूर्व परिषद्का जानकारी नदिएको पाइएको छ ।

अनुगमन समितिका सदस्य तथा अभिभावक सङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारीका अनुसार महाराजगन्जमा सञ्चालन अनुमति लिएको ओरिन्ट उमावि वसुन्धरामा सञ्चालन गरेको तर अनुगमन कर्तालाई दुवै ठाउँमा उमावि सञ्चालन छ भनी ढाँटेको बताए । उमाविले जुन ठाउँका लागि स्वीकृति लिएको हो सोही ठाउँमा कक्षा सञ्चालन गर्नुपर्छ र पछिल्लो नीतिअनुसार दस जोड दुई मात्रको कक्षा सञ्चालन गर्न मिल्दैन ।

यस्तै लैनचौरस्थित नेसनल साइन्स स्कुल (निष्ट) ले कक्षा ११ को प्रवेश परीक्षाका लागि नमूना प्रश्नपत्र र उत्तरसहितको गेसपेपर बिक्रीवितरण गरिरहेको छ । निष्टका प्रिन्सिपल माधवप्रसाद बरालले विद्यार्थीको मागअनुसार उनीहरूको सुविधाका लागि त्यस्तो गरेको बताए । नेकपा–माओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी) का कोषाध्यक्ष लालबहादुर तामाङ विद्यालयले त्यसरी गेसपेपर बिक्री वितरण गर्नु गलत प्रवृत्ति भएको बताए ।

शिक्षा विभागले गत वर्ष विद्यालय तहमा गाइड, गेसपेपरको बिक्री वितरणमा रोक लगाएको थियो । यस्तै परिषद्ले ग्रिडनल्याण्ड चिल्ड्रेन एकेडेमी, न्यू समिटि, ब्रिज वाटर, मोर्गान, ओरिन्ट, ब्लूवर्ड, मोलिस, क्यास्पियनलगायतका उमाविमा अनुगमन गरेको छ ।

अनुगमन सकिएपछि उमाविहरूलाई आवश्यक कारबाही गर्ने परिषद्ले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us