विश्व वातावरण दिवस र कुकुरे प्रवृत्ति

काठमाण्डु टुडे २०७१ जेठ २६ गते २:०२ मा प्रकाशित

विश्व वातावरण दिवसको अवसरमा यस पटक नेपालमा वातावरण सम्वन्धी कार्यक्रमहरु धेरै भए । प्रत्येक जिल्ला सदरमुकाममा र्‍याली निकालिए, शहर बजारका बाटो fanindraघाटो र सार्वजनिक स्थालको सरसफाई गरियो । यसमा नेपाल सरकारका  साथै विभिन्न गैरसरकारी संघ/संस्थाका व्यक्तिहरु लागि परेको देखियो ।

अझ विभिन्न विद्यालयका विद्यार्थीहरु हातमा प्ले कार्ड र व्यानर बोकेर वातावरण सफा र हरियाली बनाउनुपर्ने नारा लगाउँदै तातो घाममा बजार घुमे ।
नेपालको सन्दर्भमा प्रत्येक परिवारले दैनिक सरदर २०० ग्राम फोहोर उत्पादन गर्दछ । यो तथ्यले मुलुकभर सरदर दैनिक ५ हनार ३ सय २० मेट्रिक टन फोहोर उत्पादन हुने देखाउँछ । यसलाई सबैले घरबाटै कम उत्पादन गर्ने बानीको विकास नगर्ने हो भने हाम्रो प्राकृतिक सम्पदा नै नष्ट भई वातारणमा विकराल समस्या देखा पर्ने देखिन्छ । यसको समाधानका लागि वर्षको एक दिन सफा गरेर मात्र पुग्दैन ।

वातावरण बिग्रनाले हाम्रो सन्ततिको भविष्य नै खतरामा पार्नेछ ।
मुलुकभर १३० वटा नगरपालिक र ३ हजार ६ सय ३३ गाविस छन् । फोहोरमैला व्यवस्थापन ऐन–२०६८, ले फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रलाई फोहोरमैला व्यवस्थापनमा यी स्थानीय निकायहरुलाई प्राविधिक सहयोग गर्ने, अध्ययन अनुसन्धान तथा प्रविधिको विकास र विस्तार गर्ने, जनचेतना अभिवृद्धि कार्यक्रम संचालन गर्ने, फोहोरमैला व्यवस्थापन कार्यको अनुगमन तथा मूल्याङ्कन गर्ने महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको छ । स्वास्थ वातावरण र स्वास्थ्य नागरिक देशका सम्पत्ति हुन् । त्यसैले सम्पूर्ण स्थानीय निकाय, सामाजिक कार्यकर्ताको ठूलो सञ्जाल भएका राजनीतिक पार्टीहरु, उद्योग व्यवसायीहरु, स्वास्थ्य सम्वद्ध संघ संस्थाहरु, महिला समूहहरु, फोहोरमैला व्यवस्थापनमा संलग्न विभिन्न संघ संस्थाहरु, शैक्षिक संघ संस्थाहरु तथा सबै सरोकारवालाहरुले समेत हातेमालो गर्दै फोहरमैला व्यवस्थापनको दीगो समाधानमा सहयोग गर्नु आजको आवश्यकता हो ।
वातावरण प्रदूषणका कारण उच्च हिमाली क्षेत्रहरुमा बेमौसमी समयमा हिउँ पर्ने, हिउँ पग्लने गर्नाले ठूलो धन जनको क्षेति हुँदै गएको छ । र भोलिका दिनमा अझ वातावरणप्रति सचेत नहुने हो भने त्यसले बिकराल र भयाबह स्थिति निम्त्याउने निश्चित छ । त्यसको प्रत्यक्ष मारमा हामी मानिसहरु नैं पर्ने छौं । भने त्यसको अन्य असर जीवजन्तुले पनि खेप्नुपर्ने छ ।
स्थानीय सरकार, युवा समूह, क्लब र सचेत वर्गले देशका विभिन्न स्थानमा खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरेका छन् । तर यो नाममा मात्र सीमित भएको छ । काममा त्यति प्रभावकारी ढंगले कार्यान्वयन भएको देख्न सकिएको छैन ।
शहरबजारका मानिहरु घरमा कुकुर पाल्छन्, तर आफू आफ्नैं घरको शौचालयमा दिसा पिसाब गर्ने गरेता पनि आफ्नो कुकुरलाई भने सर्वजनिक स्थानमा लगेर शौच गराउने गरेको हामीले देख्दै र भोग्दै आइरहेका छौं । यसले पनि वातावरणमा नकारात्मक असर पर्ने गरेको छ । यो कुकुरे प्रवृत्ति अन्त्य गर्न सके वातावरण दिवस मनाउनुको औचित्य सिद्ध हुनेमा दुई मत रहँदैन । मानिसले जसरी आफ्नो मल मूत्रलाई सहि तरिकाले ठेगान लगाएको छ, त्यसैगरी आफ्नो घरमा भएका पाल्तु जनावरको दिसा पिसावलाई सही तरिकाले व्यवस्थापा गर्न सकेको ढंगमा वातावरण दिवसको औचित्य सावित हुन्छ ।
शहरका मानिसहरु बिहान ‘मर्निङ वाक’ गर्ने क्रममा हातमा डोर्‍याएको कुकुरलाई सडकका दायाँ बायाँ, तथा खुला चौरहरुमा शौच गराउनुले सहरिया मानिसको कुकुरे प्रवृत्तिको बारेमा यहाँ उल्लखे गर्न विश्व वातावरण दिवसका आवसरमा सान्दर्भिक ठान्दछु । त्यही घरको मालिक सरकारी कार्यालयको उच्च पदमा या त कुनै एनजिओ/आईएजजिओमा कार्यरत हुन्छ । ऊ दिनभर वातावरण सफा राख्नुपर्ने, रुख बिरुवा रोप्नुपर्नेलगायतका भाषण छाँट्छ र बेलुका घरमा गएर आफ्नो पाल्तु कुकुरलाई लुसुक्क सार्वजनिक चौरमा लगेर वातावरणमाथि धावा खेल्छ । यही कुुकुरे प्रवृत्तिले यो वातावरण दिवस भाषणमा सीमित भएको छ । नेपालका हरेक दिवस र कार्यक्रहरु मात्र औपचारीकतामा सीमित छन् । भनाई र गराईबीचको तादम्यतालाई एकरुपता दिनु नै यस वजर्षको वातावरण दिवसको सन्देश हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us