
काठमाण्डु, २५ जेठ– एकीकृत माओवादीसहित प्रतिपक्षी दलको अवरोधका कारण व्यस्थापिका ससंदको आइतबारको बैठक पनि कार्यसूचीमा प्रवेशै नगरी स्थगित भएको छ ।
बैठक प्रारम्भ भएलगत्तै प्रमुख प्रतिपक्षीसहित प्रतिपक्षी दलका सभासदले उठेर विरोध जनाएपछि चौथोपटक संसद बैठक अवरुद्ध भएको हो ।
बैठकमा प्रतिपक्षीहरुका तर्फबाट बोल्दै फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छेदारले सरकार यसअघि भएका सहमति कार्यान्वयनमा गम्भीर नरहेकाले बाध्य भएर संसद अवरुद्ध गर्नुपरेको बताए ।
ेनिर्वाचनमा भएको धाँधली छानबिन समिति र उच्चस्तरीय राजनीतिक समिति गठन गर्ने विषयमा सत्तापक्ष गम्भीर नरहेकाले संसद चल्न नदिने उनले जनाए । उनले सहमति कार्यान्वयनका लागि सडकबाटै दबाब दिने अबस्था ननिम्त्याउन चेतावनी दिए ।
गच्छदारले काँग्रेस र एमालेले आफैंले हस्ताक्षर गरेको सहमति कार्यान्वयन नगरेर के गर्न चाहेको भन्ने प्रश्न गरे । काँग्रेस–एमालेले एमालेले निर्वाचनमार्फत पाएको अभिमत आफूहरुले स्वीकार गरेको भन्दै उनले पूरै देश आफूहरुको नठान्न भने ।
एमाओवादी तेश्रो र मधेशबादी साना दलमा खुम्चिएको भन्दैमा प्रतिपक्षीलाई नहेप्न उनको आग्रह थियो । दुई तिहाईको आडमा कांग्रेस–एमालेले आफूखुसी संविधान ल्याएर दाता बन्न खोजेको आरोप उनले लगाए ।
‘ठूलो दल भइयो भन्दैमा सिंगै देश कांग्रेस र एमालेको मात्र ठान्नु भएको हो ?’,गच्छदारले भने, ‘सरकारले संविधानसभामार्फत संविधान लेख्न चाहिरेको छैन ।’ संविधान बनाउन नसके प्रधानमन्त्री सुशील कोइरालासहित सत्ताधारी दलका नेता बनासरको सागरनाथ गएर माला जप्नु उपयुक्त हुने उनको भनाइ थियो ।
गच्छदार सागरनाथ जान भनेपछि कांग्रेस–एमालेका सभासदले नियमापत्ति जनाए । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले गच्छेदारले संसदीय मूल्य र मान्यताविपरीत अभिव्यक्ति दिएको भन्दै प्रतिवाद गर्न मिल्ने कि नमिल्ने भन्ने प्रश्न गरे ।
कांग्रेसका नेतालाई संविधान बनाउन नसके जाने ठाउँ देखाउनेले आफू कहाँ जाने भन्ने ख्याल गर्न आग्रह गरे ।