एमालेमा वैचारिक रुपान्तरण भएन: खनाल

काठमाण्डु टुडे २०७१ जेठ २५ गते १३:३८ मा प्रकाशित

काठमाण्डु, २५ जेठ– एमाले अध्यक्ष झलनाथ खनालले पार्टीमा सङ्गठनात्मक सुधार भए पनि सोचे जति वैचारिक रुपान्तरण हुन नसकेको बताएका छन् ।
JN-Khanalएमाले पोलिटब्युरो सदस्य मुकुन्द न्यौपानेद्वारा लिखित ‘नीति, नेतृत्व र नैतिकता’ शीर्षक पुस्तकको राजधानीमा आइतबार लोकार्पण गर्दै खनालले नवौं महाधिवेशनले पार्टीलाई वैचारिक–राजनीतिक पुनर्गठन गर्दै एकता र सहमतिको सन्देश दिने बताए ।

‘पार्टीको आठौं महाधिवेशनयता झन्डै एक लाखको हाराहारीमा पार्टी सदस्य बढेका छन्’, खनालले भने, ‘तर वैचारिक रुपान्तरणमा त्यति प्रगति हुन सकेको छैन, यसको कारण खोजेर अघि बढ्न आवश्यक छ ।’ उनले एमालेले दक्षिणपन्थी र उग्रवामपन्थीसँग वैचारिक संघर्ष गरिरहेको भन्दै समुन्नत पार्टी निर्माण नभएसम्म लडाइँमा विजय प्राप्त नहुने उल्लेख गरे ।
एमाले पोलिटब्युरो सदस्य प्रदीपकुमार ज्ञवालीले पार्टीभित्र वैचारिक रक्षाको प्रश्न गम्भीर बन्दै गएको बताउँदै पुरानो पुस्ताले नेतृत्व हस्तान्तरण गर्न सक्नुपर्नेमा जोड दिए ।  अर्का पोलिटब्युरो सदस्य पृथ्वीसुब्बा गुरुङले पनि पार्टीमा अब नयाँ नेताको परीक्षण हुन आवश्यक रहेको बताए ।

पुस्तकका लेखक न्यौपानले एकै व्यक्ति पटक पटक नेतृत्व र महत्वपूर्ण जिम्मेवारीमा बस्नु अनैतिक हुने धारणा राखे । न्यौपानेले ४५ वर्षको राजनीतिक जीवनका अनुभवका क्रममा विभिन्न समयमा लेखिएका १४ रचनालाई समावेश गरी पुस्तक तयार गरेको एमालेका केन्द्रीय प्रचार विभाग सचिव सूर्य थापाले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us