पीआर, डिभी चिठ्ठामा सहभागी कर्मचारीलाई अवकाश दिने– मन्त्री पण्डित

काठमाण्डु टुडे २०७१ जेठ २५ गते १२:५२ मा प्रकाशित

विराटनगर, २५ जेठ – सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले निजामती प्रशासनमा देखिएका विकृति र विसङ्गतिलाई हटाउन आफूले पुन: उच्चस्तरीय प्रशासन सुधार आयोग गठन गर्ने बताएका छन् ।

आयोगमा पूर्व प्रशासक, प्रशासनविद् तथा विज्ञ प्राध्यापकलाई राखी सबल र सक्षम प्रशासन बनाउने तर्फ गम्भीरतापूर्वक पहल गरिने जानकारी दिएका छन् ।

सामान्य प्रशासन मन्त्रालयद्वारा आइतबार विराटनगरमा आयोजित निजामती सेवाका समस्या, चुनौती र समाधानका उपायहरु विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै हाल काशीराज दाहालको अध्यक्षतामा गठित प्रशासन सुधार आयोगको प्रतिवेदनको अध्ययन भइरहेको र त्यसका आधारमा पनि प्रशासनमा सुधार गर्ने र कमी कमजोरी देखिएमा पुन: नयाा उच्चस्तरीय सुधार आयोग गठन गर्ने तर्फ लाग्ने बताएका छन् ।

निजामती प्रशासनमा हाल सात वटा ट्रेड युनियन रहेकाले त्यसलाई हटाई एउटा मात्र ट्रेड युनियन राख्ने बताउँदै उनले त्यस अभियानमा जस्तोसुकै दबाब आएपनि पछि नहट्ने दृढता व्यक्त गरेका छन् ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पण्डितले ‘‘जनताको करबाट चल्ने निजामती प्रशासनले जनताको काम सन्तोषजनक रुपमा गर्न सकेको छैन । सरुवा बढुवा आकर्षक क्षेत्रमा गर्न कर्मचारीहरु शक्तिकेन्द्रमा धाउने गरेका छन् ।त्यसमा पनि सुधार गर्न म लागेको छु’’ भनेका हुन् ।

हाल निजामती ऐन चौथो संशोधन विधेयक संसदमा रहेको र सो पारित भएपछि निजामती सेवामा देखिएका विकृति हट्ने विश्वास व्यक्त गर्दै ,जागीर नेपालमा खाने र स्थायी बसोबास अनुमति (पीआर) लिने वा डिभी चिठ्ठामा सहभागी हुने र सम्पत्ति विदेशमा पठाउने सरकारी कर्मचारीलाई कुनै हालतमा नछोड्ने र त्यस्तो गरेको पाइए जागिरबाट अवकाश दिने तयारीमा सरकार लागिसकेको बताएका छन् ।
धार्मिक कार्य बाहेक निजी लाभको कुनै पनि काममा सरकारी कर्मचारी बस्न नहुने र त्यस्तो गरेको पाइएमा कारबाही हुने पनि उहाँले बताएका छन्  ।

आफ्नो अधिकारभित्र रहेको काम पन्छाउने र दायित्व नलिने कर्मचारीहरुलाई त्यस्तो कार्य तुरुन्त छाड्न पनि उनले निर्देशन दिएका छन् ।

त्यस्तै जनताको करबाट तलब थाप्ने कर्मचारी इमान्दारिपूर्वक र कर्तव्यनिष्ठ भएर काम गर्नु पर्नेमा मन्त्रालयका सचिव महेन्द्र उपाध्यायले जोड दिएका छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले सेवा सुुविधाको कमीले निजामती कर्मचारीले राम्रोसँग कार्य गर्न नसकेको बताएका छन् ।

सो मन्त्रालयका सहसचिव सुरेश अधिकारीले “निजामती सेवाको चुनौती, विकृति र सुधारको खोज” विषयमा कार्यपत्र प्रस्तुत गर्दै निजामती सेवाको कार्य क्षेत्र बृहत् र व्यापक रहेकाले सुधार गर्न अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताएका हुन् ।

एकदिने सो अन्तरक्रियामा मोरङ जिल्लामा रहेको निजामती, नेपाल प्रहरी, सशस्त्र प्रहरी, संस्थान र समितिका क्षेत्रीय र जिल्ला कार्यालयका प्रमुख एवम् प्रतिनिधिको सहभागिता रहेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us