शिक्षकलाई तलब खुवाउन घाँसखेती

काठमाण्डु टुडे २०७१ जेठ २५ गते ११:१९ मा प्रकाशित

म्याग्दी, २५ जेठ – म्याग्दीको एक विद्यालयले शिक्षकलाई तलब खुवाउन घाँसखेती गरेको छ । म्याग्दीको रुम गाविस–९ डाँडागाउँमा रहेको अमरज्योति माविले निजी स्रोतका शिक्षकलाई तलब खुवाउन गाउँको सार्वजनिक पाखोमा घाँसखेती गरेको हो ।

विद्यालय परिसरमा रहेको दुई हेक्टरभन्दा बढी क्षेत्रफलको पाखोमा खर, अम्म्रिसो, खन्यु, फोर्सोलगायतका भुईं र डालेघाँस लगाएको विद्यालयका प्रधानाध्यापक वीरबहादुर पुनले बताउनुभयो । उहाँका अनुसार यस वर्ष घाँस बेचेर रु ३२ हजार आम्दानी भएको छ । विद्यालय सञ्चालनका लागि स्रोत जुटाउन हाल खर बिक्री गरेको र अन्य डालेघाँसका बिरुवा लगाइएको प्रअ पुनले जानकारी दिए ।

गाउँका बालबालिकाले निमावि र मावि तहको शिक्षा हासिल गर्न गाउँ नै छाडेर छिमेकी गाउँमा डेरा लिएर बस्नुपर्ने अथवा पढाइ नै छाड्नुपर्ने भएपछि विसं २०६५ सालमा निमावि तहको पठनपाठन गरेको विद्यालयले गत वर्ष प्रवेशिका परीक्षामा सहभागिता जनाएको थियो ।

बाह्र जना शिक्षक कर्मचारी कार्यरत विद्यालयमा निजी स्रोतका छ जना शिक्षकलाई तलब खुवाउन निजी स्रोतबाट मासिक रु ५३ हजार जुटाउनुपर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलसीराम पुनले बताए । सो विद्यालयमा २०० भन्दा बढी बालबालिका अध्ययन गर्छन् ।

विद्यालय सञ्चालनका लागि स्थानीय स्रोतको पहिचान गरी उक्त विद्यालयले उदाहरणीय कार्य गरेको बताउँदै जिल्ला शिक्षा अधिकारी विष्णुनारायण श्रेष्ठले शिक्षक दरबन्दी मिलानका क्रम र भवनलगायतका पूर्वाधार निर्माणका लागि प्राथमिकतामा राखेको बताए । उनका अनुसार चालु आर्थिक वर्षमा दुईकोठे भवन निर्माणका लागि रु सात लाख ५० हजार उपलब्ध गराइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us