असिनाबाट चार करोडको अलैँची नष्ट

काठमाण्डु टुडे २०७१ जेठ २५ गते ११:१७ मा प्रकाशित

इलाम, २५ जेठ – अविरल वर्षासँगै विभिन्न समयमा परेको असिनाले इलाममा यस वर्ष एकै गाउँमा रु चार करोड बराबरको अलैँची नष्ट भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

कार्यालयले सङ्कलन गरेको तथ्याङ्कअनुसार गत वैशाख १८ गतेको असिनाले जिर्मले गाविसमा मात्र रु चार करोडको अलैैँची नष्ट भएको हो । जिर्मलेको १, २ र ३ नं वडामा असिनाले सबैभन्दा बढी क्षति पु¥याएको छ ।

जिर्मले–१ मा साढे पाँँच हेक्टर क्षेत्रफलको अलैँची नष्ट भएको छ । अलैँचीको फूल नष्ट भएकाले ८५ मन हाराहारीमा अलैँची उत्पादन घट्ने अनुमान कृषि कार्यालयले गरेको छ ।

त्यस्तै जिर्मले–२ को साढे आठ हेक्टर क्षेत्रफलमा लगाइएको अलैँची नष्ट भएको छ । क्षतिका कारण १७० मन उत्पादनमा कमी आउने अनुमान गरिएको वरिष्ठ कृषि अधिकृत प्रकाशकुमार डाँगीले बताए ।

जिर्मले–३ मा १४ हेक्टर क्षेत्रफलको अलैँची नष्ट भएको छ । २७१ मन अलैँची उत्पादन कमी हुने कार्यालयको अनुमान रहेको छ । तीन वटा वडामा ५६५ मन अलैँची उत्पादनमा कमी आउने डाँगीले जानकारी दिए ।

अहिले प्रतिमन रु ९० हजारका दरले अलैँची किनबेच भइरहेको छ । “अहिलेकै भाउमा चार करोडको क्षति पुगेको प्रारम्भिक तथ्याङ्क सङ्कलनका क्रममा देखिएको छ”, प्रमुख डाँगीले भने ।

नष्ट भएका स्थानमा किसानले पुनः अलैँचीका बिरुवा रोप्न थालेको स्थानीय यामप्रसाद अधिकारीले बताए । जिर्मलेबाट मात्र वार्षिक रु ५० करोडभन्दा बढी अलैँची भारततर्फ निर्यात हुन्छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us