राप्रपा फुटको संघारमा

काठमाण्डु टुडे २०७१ जेठ २५ गते ९:०१ मा प्रकाशित

काठमाण्डु, २५ जेठ– राष्ट्रिय प्रजातन्त्र पार्टी औपचारिक रुमपा विभाजित हुने सम्भावना बढेको छ ।
वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्द र पशुपतिशम्शेर राणा दुवैले आफू अध्यक्ष भएको दाबी गरेपछि राप्रपा फुटको संघारमा पुगेको हो । चन्दले सूर्यबहादुर थापाको एक वर्षे कार्यकाल सकिएको भन्दै गत १९ जेठमा आफूलाई अध्यक्ष घोषणा गरेका थिए ।

राणालाई थापा समूहको केन्द्रीय समिति बैठकले आइतबार अध्यक्ष घोषणा गरेको छ । राप्रपाका संविधानसभामा ११ सभासद छन् । १०७ सदस्यीय केन्द्रीय समितिमा थापा समूहले ८७ र चन्द पक्षले ५३ जना आफ्नो पक्षमा रहेको दाबी गरेको छ ।

गत वर्ष राप्रपा र जनशक्ति पार्टीबीच एकता भएपछि थापा एक वर्षका लागि अध्यक्ष बनेका थिए । त्यतिबेला थापा, चन्द, राणा र प्रकाशचन्द्र लोहनीले एक एक वर्ष अध्यक्षता गर्ने सहमति भएको थियो । यसैबीच चन्द पक्षले थापा समूहले अवैधानिक र पूर्वसहमति विपरीत राणालाई अध्यक्ष घोषणा गरेको आरोप लगाएको छ ।

सो पक्षले पार्टीको आधिकारिक अध्यक्ष चन्द नै भएको दाबी गरेको छ । चन्द पक्षीय केन्द्रीय सदस्य वसन्त अधिकारीले राणा अवैधानिक भन्दै आधिकारिक अध्यक्ष चन्द भएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us