संसद अर्थ समितिको बैठक, मौद्रिक नीति तर्जुमा

काठमाण्डु टुडे २०७१ जेठ २५ गते ८:३३ मा प्रकाशित

काठमाण्डु , २५ जेठ– व्यवस्थापिका–संसद् अर्थ समितिको आइतबार बसेको बैठकले नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति तर्जुमा गर्दा देशमा तरलता र विदेशी विनिमय व्यवस्थापन गर्दै कृषिलगायत उत्पादनशील क्षेत्र, विपन्न वर्ग र ग्रामीण क्षेत्रमा बंैकिङ सेवा बढाउने कुरालाई विशेष ध्यान दिन निर्देशन दिएको छ ।

मौद्रिक नीतिको सैद्धान्तिक र व्यावहारिक पक्षको बारेमा जानकारी लिने उद्देश्यले आज बसेको समितिको बैठकले  देशको समग्र आर्थिक वृद्धि हासिल गर्न समितिमा उठाइएका कुरालाई कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

बैठकमा सभासद्हरुले गरिब, विपन्न र पिछडिएका वर्ग, कृषिसहित उत्पादनशील क्षेत्रमा बैंकिङ सेवा तथा लगानी बढाउन सुझाव दिएका थिए ।

सभासद् भरतमोहन अधिकारीको सभापतित्वमा बसेको सो बैठकमा अर्थ सचिव युवराज भुषाल र  सहसचिव कृष्णप्रसाद देवकोटा, नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडा, डेपुटी गभर्नर गोपालप्रसाद काफ्ले र कार्यकारी निर्देशक डा. मीनबहादुर श्रेष्ठको पनि सहभागिता रहेको थियो ।

सबैले मौद्रिक नीतिको विविध पक्षको बारेमा आ–आफ्नो धारणा रालेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us