संघीय समाजवादीका नेता एमालेमै फर्किए

काठमाण्डु टुडे २०७१ जेठ २५ गते ७:१५ मा प्रकाशित

कावासोती, २५ जेठ– अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीका पोलिटब्युरो सदस्य मझीलाल थारु थनेत माउपार्टी एमालेमै फर्किएका छन् ।

majhilalकावासोतीस्थित आफ्नै निवासमा आइतबार पत्रकार सम्मेलन गरी उनले समाजवादी पार्टी छाडेर एमालेमै फर्किएको घोषणा गरे । जातीय मुक्तिबाट समाजवादमा पुग्ने लक्ष्य निर्धारण गरेको संघीय समाजवादी पार्टी त्यसबाट विचलित भएको आरोप उनको थियो ।

एमालेको नवौं महाधिवेशनमा प्रस्तुत गर्ने दस्तावेजमा आर्थिक, सामाजिक रुपान्तरण स्पष्ट ढाँचा रहेकाले आफू एमालेप्रति नै आकर्षित भएको उनले बताए ।

‘एमालेको नवौं महाधिवेशनको दस्तावेजमा स्पष्ट रुपमा सामाजिक आर्थिक रुपान्तरणको ढाँचा प्रस्तुत गरिएकाले त्यसबाट प्रभावित भएर मैले एमालेमा फर्कने निर्णय गरेको हुँ, थनेतले भने, ‘संघीय समाजवादीले कहिले माक्र्सवादी मोडेल त कहिले अफ्रिकी मोडेल भन्ने द्वैध चरित्र प्रस्तुत गर्‍यो, त्यसैले बस्न सकिन ।’
विसं २०४८ मा एमालेबाट  नवलपरासी क्षेत्र नं २ मा विजयी भएपछि तत्कालीन महासचिव मदन भण्डारीले उनलाई लुम्बिनी टाइगरको उपमा दिएका थिए ।  थनेत २०५१ को मध्यावधि निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us