पेस्तोलसहित पाँच भारतीय पक्राउ

काठमाण्डु टुडे २०७१ जेठ २५ गते ६:२५ मा प्रकाशित

विराटनगर, २५ जेठ– हतियारसहित नेपाल प्रवेश गर्दै गरेका पाँच जना भारतीय नागरिकलाई सशस्त्र प्रहरी बल राजस्व एवम् भन्सार गुल्म विराटनगरले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत पूर्णिया विहारका रञ्जित चौधरी, ४२ वर्षीय सञ्जय राय, २७ वर्षीय शान्तिपुर महतो, पटनाका ३६ वर्षीय विवेक सिंह र आशिष गुप्ता रहेका छन् ।

उनिहरु रानी सीमा नाकाको दुई नम्बर ढाटमा शनिबार साँझ सशस्त्र प्रहरीका हवल्दार राजेश्वर थापा नेतृत्वको टोलीको चेकजाँचका क्रममा पक्राउ परेका हुन् ।

निजी माइक्रो भ्यानमा नेपाल प्रवेश गर्दै गरेका उनीहरुमध्येका सञ्जय रायको साथमा पेस्तोल फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सञ्जयको साथबाट इटालीमा बनेको सात प्वाइन्ट ६५ एमएमको पेस्तोल एक थान र त्यसमा लाग्ने १० थान गोली बरामद गरेको छ ।
प्रहरीले उनीहरुको साथबाट भारतीय रुपैयाँ ५०० को एक लाख र हजारको नोट ११ हजारसमेत बरामद गरेको हो ।

उनीहरुसगै बिआर ११ टी २४६५ नम्बरको माइक्रो भ्यानसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका भारतीयहरु आफूहरुलाई महिन्द्रा डिस्ट्रीब्युटर्स प्रा.लि. विहार पूर्णियाको सञ्चालक रहेको र नेपाल घुम्न आएका बताउँदै आएका छन् ।

यस सम्बन्धमा आवश्यक अनुसन्धानका लागि सशस्त्र प्रहरीले नेपाल प्रहरीलाई बुझाइसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us