अाेली पक्षद्वारा पार्टी कार्यालय कब्जा, नेपाल पक्षलाई प्रवेशमा रोक

काठमाण्डु टुडे २०७१ जेठ २५ गते ५:५३ मा प्रकाशित

वनेपा, २५ जेठ – नेकपा एमालेको नवौँ महाधिवेशन नजिकिँदै गर्दा एमाले काभ्रेपलाञ्चोकमा पार्टी अध्यक्षका दुई उम्मेदवारका समर्थकबीचको विवाद उत्कर्षमा भएको छ ।

kp- madhav
वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर जिल्लास्तरीय नेतालाई संसदीय दलका नेता केप ओली पक्षले पार्टी कार्यालय प्रवेशमा रोक लगाएपछि एमाले काभ्रेभित्रको विवाद बाहिर आएको हो ।

ओली पक्षधरले जिल्ला कार्यालयमा नयाँ ताला लगाइदिएपछि आज नेपाल पक्षधर जिल्लास्तरीय नेताले मदन भण्डारी अध्ययन केन्द्रको नामबाट कार्यालय बाहिर नै पत्रकार सम्मेलन आयोजना गरेका थिए । एमाले काभ्रेका सचिव टोकबहादुर वाइबाले कम्युनिस्ट पार्टीमा विचारको बहस पेचिलो हुने भन्दै विचार समूहको बहसलाई तल्लो कार्यकर्तासम्म पुर्‍याउन खोजिएको बताए ।

उनले विचारको नेतृत्व वरिष्ठ नेता नेपालले गर्ने जिकिर गर्दै “जसको नीति उसको नेतृत्व हुनुपर्छ” भने । सचिव वाइबाले भने “मुलुकमा गणतन्त्र आइसकेको छ तर हाम्रो पार्टीमा लोकतान्त्रिक पद्धतिकोसमेत विकास भएको छैन ।”

मदन भण्डारी अध्ययन केन्द्रका अध्यक्ष तथा पार्टी जिल्ला सदस्य कृष्ण तिमल्सिनाले कार्यालयमा नियोजित रुपले ताला परिवर्तन गरेर निषेध गर्न खोजिएको आरोप लगाए । नेपाल पक्षधर जिल्लास्तरीय नेताले जेठ ३१ गते बनेपामा भेला आयोजना गरेका छन् । सो भेलालाई वरिष्ठ नेता नेपाललगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us