उच्चस्तरीय समितिको नेतृत्वमा विवाद

काठमाण्डु टुडे २०७१ जेठ २५ गते १४:०२ मा प्रकाशित

काठमाण्डु, २५ जेठ– व्यवस्थापिका–संसदको अवरोध हटाउन प्रमुख तीन दल कांग्रेस, एमाले र एकीकृत माओवादीका शीर्ष नेताको बैठक बिनानिष्कर्ष सकिएको छ ।

व्यवस्थापिका– संसद बैठकअघि संविधानसभा भवन नयाँबानेश्वरमा बसेको शीर्ष नेताको बैठकमा उच्चस्तरीय राजनीतिक समितिको नेतृत्वको विषयमा विवाद भएपछि सहमति जुट्न नसकेको हो । एकीकृत माओवादीले समितिको स्थायी नेतृत्वमा दाबी गरेको छ ।

उसले समिति संयोजकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नाम अघि सारेको छ । सत्तारुढ काँग्रेस–एमालेले भने चक्रीय प्रणालीका आधारमा आलोपालो नेतृत्व गर्ने गरी समिति गठन गर्नुपर्ने बताएका थिए ।

‘हामीले चक्रीय प्रणालीका आधारमा पालैपालो नेतृत्व गर्ने गरी जऔं भन्यौं’, एमाले वरिष्ठ नेता माधवकुमार नेपालले भने, ‘तर एकीकृत माओवादीले संयन्त्रको स्थायी नेतृत्व पाउनुपर्ने अडान लिएको छ ।’

आइतबार शनिबार भएको सहमतिलाई अन्तिम रुप दिएर अवरुद्ध संसद खुलाउने सहमति दलहरुबीच भएको थियो । दलहरुबीच निर्वाचनमा भएको धाँधली र बजेट रकमान्तरका विषयमा छानबिन गर्न संसदीय समिति बनाउने सहमति भने यसअघि नै भइसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us