बैंक पुन:स्थापना नहुँदा सेवाग्राही मारमा

काठमाण्डु टुडे २०७१ जेठ २४ गते १४:४० मा प्रकाशित

दार्चुला, २४ जेठ– दार्चुला सदरमुकाम खलङ्गा पछिको दोस्रो ठूलो बजार गोकुलेश्वरमा नेपाल बैंक लिमिटेडको शाखा २०५८ सालदेखि सशस्त्र द्वन्द्वकालमा बन्द भएको र १३ वर्ष बितिसक्दा पनि बैंकको शाखा पुन:स्थापना हुन नसक्दा व्यापारी तथा स्थानीयवासिन्दाले सास्ती खेप्नुपरेको छ ।

यस क्षेत्रका वासिन्दाले बंैकिङ सुविधा लिन दैनिक रु ६०० यातायातमा खर्च गर्नुपर्ने अवस्था भएको दार्चुला कृषि क्याम्पसमा आइएसिएजी दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी विनोद विकले बताए । उनले भने, ‘कुलेश्वरमा बैंक शाखा पुन:स्थापना नहुनाले सम्पूर्ण विद्यार्थीले घरबाट पठाएको रकम जिल्ला सदरमुकाम खलङ्गा गएर बुझ्नुपरेको  छ ।’

बढ्दै गएको बजारीकरणले गर्दा गोकुलेश्वरमा बैंकिङ सेवाको आवश्यकता भए पनि सुरक्षा अभावले यस क्षेत्रमा बंैक खुल्न सकेका छैनन् । दार्चुलाको प्रवेशद्वारमा रहेको गोकुलेश्वरका व्यापारीले सदरमुकाम खलङ्गा आएर बैंकको काम गर्न आउादा हैरानी व्यहोर्नु परेको छ ।

गोकुलेश्वरमा रहेको नेपाल बैंक लिमिटेडको शाखा बैंक सशस्त्र द्वन्द्वकालमा डडेल्धुरा गएपछि पुन:स्थापना हुन नसक्दा सेवाग्राहीले समस्या झेल्नुपरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us