निर्वाचन धाँधली, रकमान्तर र एआईजी बढुवा छानबिन समिति बन्ने

काठमाण्डु टुडे २०७१ जेठ २४ गते ११:५३ मा प्रकाशित

काठमाण्डु, २४ जेठ– अवरुद्ध व्यवस्थापिका–संसदको बैठक सुचारु गर्न प्रमुख राजनीतिक सहमतिनजिक पुगेका छन्।
Sushil-Koiralaप्रधानमन्त्री सुशील कोइरालाको पहलमा शनिबार बालुवाटारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठक सकारात्मक भएको बैठकपछि नेताहरुले बताएका छन् ।

दलहरुबीच बजेट रकमान्तर, संविधानसभा निर्वाचनमा भएको धाँधली र नेपाल प्रहरीको एआईजी बढुवामा भएको आर्थिक चलखेल छानबिनका लागि छुट्टाछुट्टै संसदीय समिति गठन गर्ने सहमति भएको छ ।

उच्चस्तरीय राजनीतिक समिति गठनमा समेत सैद्धान्तिक सहमति जुटेको भए पनि नेृतृत्वका बारेमा भने विवाद भएको छ । एकीकृत माओवादीले समितिको नेतृत्वमा आफ्नो दाबी गरेको छ । एमाले र काँग्रेसले भने चक्रीय प्रणालीका आधारमा नेतृत्व गर्नुपर्ने अडान लिएका छन् ।

बैठकपछि काठमाण्डु टुडेसँग कुरा गर्दै एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीले छलफल सकारात्मक भएको र आइतबार संसद् बैठकअघि पुन: बैठक बसेर सहमतिलाई अन्तिम प्रयास गरिने बताए ।
बैठकमा प्रमुख तीन दल काँग्रेस, एमाले र एकीकृत माओवादीका शीर्ष नेता सहभागी थिए । एमाओवादीले गत ९ पुसमा प्रमुख दलबीच भएको चार बुँदे सहमति कार्यान्यवन, विभिन्न मान्त्रालयबाट गरिएको ४ अर्बभन्दा बढीको रकमान्तर र नेपाल प्रहरीको इआईजी बढुवामा भएको आर्थिक चलखेल सम्बन्धमा छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै व्यवस्थापिका–संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रमुख प्रतिपक्षीको अवरोधका कारण संसदको वर्षे अधिवेशन प्रभावित भएको छ । संसद् बैठक आइतबार बस्दैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us