विद्या भन्छिन्, ‘अरुलाई हेर्‍यौं पटकपटक केपी ओलीलाई हेरौं यसपटक’

काठमाण्डु टुडे २०७१ जेठ २४ गते ११:१० मा प्रकाशित

काठमाण्डु, २४ जेठ– एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीले नवौं महाधिवेशनमा केपी शर्मा ओली सर्वसम्मत अध्यक्ष नभए चुनाव हुने बताएकी छन् ।

bidhya bhandari2
प्रेस चौतारी काठमाण्डुले शनिबार राजधानीमा गरेको कार्यक्रममा भण्डारीले सहमति भए ओलीकै नाममा हुनुपर्ने र नभए चुनाव हुने बताइन् । ‘पदाधिकारीमा सर्वसम्मत गर्ने प्रयास हुन्छ’, भण्डारीले भनिन्, ‘कोही प्रतिस्पर्धामा आउँछ भने भाग्ने कुरा भएन ।’

विचार र संगठन एक हुँदा हुँदै पनि शीर्ष नेतृत्व तहमा मेलमिलाप हुन नसकेका कारण विगतमा एमाले पार्टीजस्तो नभएकाले भावनात्मक एकताका लागि पनि ओली सर्वसम्मत अध्यक्ष हुनुपर्ने उनको भनाइ थियो ।

उनले पटकपटक पार्टीको मुल नेतृत्वमा रहेका माधव नेपालले अध्यक्षमा दाबी गर्न नमिल्ने बताइन् । नेपालले आफू यसअघि महासचिव भएको र अध्यक्ष नभएको भन्दै तर्क गर्नुलाई उनले अराजनीतिकको संज्ञा दिइन् ।

‘झलनाथ र माधव कमरेडले पटकपटक नेतृत्व गरिसक्नुभएको छ, ओली कमरेडको परीक्षण हुन बाँकी छ’, भण्डारीले भनिन्, ‘अरुलाई हेर्‍यौं पटकपटक केपी ओलीलाई हेरौं एकपटक ।’ माधव नेपालले
नेतृत्वमा आजीवन टिकिरहने र उत्तराधिकारी पनि आफैं तोक्दै जाने राजतन्त्रात्मक शैली अपनाएको उनको आरोप छ ।

भावी नेतृत्वका लागि आफूहरुबीच कुनै सम्झौता नभएको दाबी उनले गरिन् । ‘एउटै मान्छे बाँचुञ्जेल नेतृत्वमा टिकिरहने तर तिनीहरुले नै अहिले पार्टीभित्र भावी नेतृत्वका लागि सम्झौता भएको छ भनेर भन्नुको अर्थ छ र ?’ उनले झलनाथ खनालको प्रस्तावमा माधव नेपालले समर्थन गरेर केपी ओलीलाई अध्यक्ष बनाउनुपर्ने बताइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us