गुटगत भेला र आरोप–प्रत्यारोपबारे एमाले अनुशासन आयोगको आपत्ति

काठमाण्डु टुडे २०७१ जेठ २४ गते ९:४६ मा प्रकाशित

काठमाण्डु, २४ जेठ– एमाले अनुसन्धान आयोगले नवौं महाधिवेशन तयारीका क्रममा पार्टीभित्र गुटगत भेला तथा एक अर्काप्रति असहिष्णु आरोप–प्रत्यारोप गरेको भन्दै uml officeआपत्ति जनाएको छ ।
आयोग सचिवालयको शनिबारको बैठकले गुटगत बैठक र भेला भएको, फरकफरक सम्पर्क कार्यालय स्थापना गरेको तथा विभिन्न तहमा आ–आफ्नै रुचि समूहको भेला गरी एकअर्काप्रति असहिष्णु आरोप–प्रत्यारोप गरेको भन्दै आपत्ति जनाएको हो ।

अनुशासन आययोगका अध्यक्ष अमृतकुमार बोहराद्वारा जारी विज्ञप्तिमा त्यस्ता गतिविधि तत्काल रोक्न निर्देशन दिइएको छ ।

‘बहसको नाममा छुट्टाछुट्टै समूहको बैठक, भेला आयोजना गर्ने, पार्टीको सामान्य मर्यादा र अनुशासनलाई ख्याल नगरी एक अर्कालाई खुइल्याउने तथा एकअर्काप्रति असहिष्णु आरोपप्रत्यारोप गर्ने जस्ता गैरकम्युनिष्ट आचरण तथा शैलीले पार्टीको किमार्थ हित हुन सक्दैन’, विज्ञप्तिमा भनिएको छ ।
आयोगले महाधिवेशनका दस्तावेजलाई पद्धतिसम्मत व्यवस्थित रुपमा बहस छलफल गराउन विगतमा जस्तै पार्टीको विभिन्न तहमा आवश्यकताअनुसार ‘वैधानिक मञ्च’को आयोजना गरी एउटै मञ्चमा सबै नेतालाई सहभागी गराउन भनेको छ ।
आयोगले महाधिवेशनलाई अनुशासित, मर्यादित र व्यवस्थित रुपमा सञ्चालन र सम्पन्न गर्न एक ठोस तथा व्यावहारिक आचारसहिंता बनाइ पार्टीलाई आफ्नो क्रान्तिकारी लक्ष्यअनुरुप अगाडि बढाउन आग्रहसमेत गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us