श्रीमानकै मिलेमतोमा श्रीमतीमाथि सामूहिक बलात्कार

काठमाण्डु टुडे २०७१ जेठ २४ गते ७:४२ मा प्रकाशित

काठमाण्डु, २४ जेठ –विवाह गरेको डेढ महिनापछि मकवानपुरमा एक महिला श्रीमानकै मिलेमतोमा सामूहिक बलात्कारको शिकार भएकी छन् ।

हेटौंडा–८ कमानेका सन्तोष अधिकारीले आफ्नै श्रीमतीमाथि सामूहिक बलात्कार गरेका हुन् । पीति पक्षको जाहेरीका आधारमा प्रहरीले सन्तोष र उनका भाई सुमन अधिकारी तथा बलात्कारमा सघाएको आरोपमा उनीहरुकी काकी भगवतीदेवीलाई पक्राउ गरेको छ ।

सन्तोषले स्थानीय २१ वर्षीया युवतीसँग गत वैशाख १ गते परम्परागत मागी विवाह गरेका थिए । विवाहको भोलिपल्टैदेखि दाजुभाई मिलेर लठ्याउने औषधि खुवाएर पालैपालो बलात्कार गर्दै आएको पीडितको उजुरीमा छ । युवतीको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

पीडित महिलाले ग्याष्टिकको औषधि भन्दै लठ्याउने औषधि खुवाएर बलात्कार गर्ने गरेको बताएकी छन् । उनका देवर सुमनले भाउजुलाई बलात्कार गरेको स्वीकार गरेका छन् । मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक गणेश ऐरले दोषीमाथि अनुसन्धान भइरहेको जानकारी दिँदै कारबाही गरेरै छाड्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us