एमाओवादीले भट्टराई पक्षको कार्यविभाजनबारे छानबिन गर्ने

काठमाण्डु टुडे २०७१ जेठ २४ गते १३:४० मा प्रकाशित

काठमाण्डु, २४ जेठ– एकीकृत नेकपा माओवादीले असन्तुष्ट नेता बाबुराम भट्टराई पक्षले गठन गरेको समानान्तर पार्टी कमिटीबारे छानबिन गर्ने भएको छ ।
maoist-flagपार्टी केन्द्रीय कार्यालय कोटेश्रव पेरिसडाँडामा शनिबार बसेको स्थायी कमिटी बैठकले त्यस सम्बन्धमा आन्तरिक छानबिन गर्ने निर्णय गरेको हो ।

‘भट्टराई पक्षले पार्टीभित्र पार्टी र संगठनभित्र संगठन बनाउन खोजेको देखियो’, एक स्थायी समिति सदस्यले काठमाण्डु टुडेसँग भने, ‘त्यस विषयमा आन्तरिक छानबिन गर्ने कुरा भएको छ ।’ उनले भट्टराई पक्षले समानान्तर कमिटी निर्माण गरेको विषयलाई बैठकले गम्भीर रुपमा लिएको बताए ।

समानात्तर कमिटी बनाएको जिम्मेवारी लिनुको साटो भट्टराईले उल्टै सामाजिक सञ्चालमा ‘छट्टु स्याल प्रवृत्तिले पार्टी फुटको हल्ला चलाएको’ भन्ने गैरजिम्मेवारी अभिव्यक्ति दिएको भन्दै उनले आपत्ति जनाए ।

उनले भट्टराईको निर्देशनमा सो पक्षका तीन जना नेता बसेर कार्यविभाजनको प्रस्ताव तयार पारेको दाबी गरे । ‘आठ बुँदे विधिविपरीत आफैं समानान्तर कमिटी बनाउने अनि आफैं छट्टु स्याल हल्ला भन्ने उहाँको भनाइ हास्यास्पद छ’, ती नेताले भने, ‘आफूले गर्न लगाएको कामको नैतिक जिम्मेवारी लिने आँट नगरेर अण्टसन्ट कुरा गर्नुको तुक छैन, बाबुराम डाक्टरले भनेको भन्दैमा सबैले पत्याउने कुरा हुन्छ र ? ।’

पदाधिकारीसहित कुनै पनि कार्यकारी जिम्मेवारी नलिएको भट्टराई पक्षले समानान्तर कमिटी निर्माण गरेको विषय सञ्चार माध्यममा आएपछि एमाओवादीमा त्यसबारे बहस चर्किएको छ

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us