
तनहुँ, २४ जेठ– तनहुँमा शनिबार बिहान चट्याङ लागेर एक जनाको ज्यान गएको छ ।
मृत्यु हुनेमा व्यास नगरपालिका– ९, दुम्सीकोटका ४१ वर्षीय लेखबहादुर भुजेल रहेको प्रहरीले जनाएको छ ।
वर्षातसँगै बिहान करिब ३ बजे चट्याड लागेर घाइते भएका भुजेलको उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । भुजेलको शव पोष्टमार्टमका लागि दमौली अस्पतालमा राखिएको छ ।
उता म्याग्दीको ओखरबोट–९ मा चटयाङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
शुक्रबार साँझ खेतमा काम गर्ने क्रममा वर्षा भएपछि ओत बस्न गएको समयमा चटयाङ लागेर ३२ वर्षीया कलिमा घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
चटयाङबाट गम्भीर घाइते भएकी घर्तीलाई उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा लैजाँदै गर्दा मृत्यु भएको थियो ।
चटयाङबाट ४८ वर्षका धनबहादुर घर्ती र पुनम घर्तीसमेत घाइते भएका छन् । घाइतेमध्ये धनबहादुर उपचार गरी घर फर्किएका छन् भने पुनमको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।