प्रचण्ड र केपी ओलीको एउटै निष्कर्ष: सरकार सुस्त र गतिहीन

काठमाण्डु टुडे २०७१ जेठ २४ गते ९:५७ मा प्रकाशित

काठमाण्डु, २४ जेठ– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले संसदीय दलका नेता केपी ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । prachanda-kp oliओलीको स्वास्थ्य बुझ्न प्रचण्ड शनिबार बिहान ओली निवास बालकोट पुगेका थिए । नेता ओली थाइल्याण्डको बैंककमा एक महिना लामो उपचार गराएर केही दिनअघि स्वदेश फर्किएका थिए ।

प्रचण्डले सुरुमा ओलीको अवस्थाबारे चासो राखेका थिए । ओलीले आफ्नो स्वास्थ्यमा सन्तोषजनक प्रगति भएको बताएको प्रचण्डका स्वकीय सचिव चुडामणि खड्काले काठमाण्डु टुडेलाई जानकारी दिए ।

उनका अनुसार ओलीसामु प्रचण्ड वर्तमान सरकार इतिहासकै सर्वाधिक सुस्त र गतिहीन भएको भन्दै कडा रुपमा पेश भएका थिए । ओलीले पनि सरकारको कामकारबाही सन्तोषजनक नरहेको भन्दै प्रचण्डको भनाइमा सहमति जनाए ।

‘सीएम (प्रचण्ड) ले सरकार गतिहीन र सुस्त भएको कुरा राख्नुभयो’, खड्काले भने, ‘ओलीले पनि सरकारको कामकारबाहीप्रति आफू सन्तुष्ट नभएको बताउनुभयो ।’

एमाले ओली पक्षीय उपाध्यक्ष बामदेव गौतमको नेतृत्वमा वर्तमान सरकारमा सहभागी छ ।

यस्तै प्रचण्डले सरकारले अरबौं रुपैयाँ रकमान्तर गरेको, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवामा आर्थिक चलखेल भएको जस्ता विषयमा समेत कुरा राखेका थिए ।

भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधान निर्माण र व्यवस्थापिका–संसदमा जारी अवरोधलगायत विषयमा समेत दुई नेताबीच छलफल भएको थियो । ओलीले प्रचण्डलाई संसदको अवरोध हटाउन आग्रह गरेका थिए ।

जवाफमा प्रचण्डले प्रमुख दलबीच गत ९ पुसमा भएको चार बुँदे सहमति कार्यान्वन भए तत्काल संसदको अवरोध हट्ने भन्दै त्यसका लागि अग्रसरता लिन ओलीलाई आग्रह गरे । पूर्वप्रतिबद्धताअनुसार मुलुकलाई एक वर्षभित्र नयाँ संविधान दिन सहमतिका साथ अघि बढ्नुपर्नेमा दुई नेताको समान धारणा रहेको खड्काले बताए ।

उनले छलफल अत्यन्तै सकारात्मक भएको उल्लेख गरे । ‘उहाँहरुबीच सौहार्दपूर्ण वातावरणमा सकारात्मक छलफल भयो’, एमाओवादी केन्द्रीय सदस्यसमेत रहेका खड्काले भने, ‘छलफलले राजनीतिक गतिरोध अन्त्यका लागि भूमिका खेल्ने विश्वास लिएका छौं ।’

एमाले महाधिवेशनबारे प्रचण्डको चासो
एक घण्टा लामो छलफलका क्रममा प्रचण्डले ओलीलाई एमाले महाधिवेशन तोकिएकै समयमा हुन्छ कि हुँदैन भन्ने प्रश्न गरेका थिए । जवाफमा उनले तोकिएकै समयमा महाधिवेशन हुने बताए ।

‘महाधिवेशन तोकिएकै समयमा हुन्छ, सर्नुपर्ने कुनै कारण छैन’, ओलीले भने । उनले महाधिवेशनले पार्टी नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गर्ने बताए । एमालेको नवौं महाधिवेशन आगामी असार १९ देखि २४ गतेसम्म राजधानीमा हुँदैछ । महाधिवेशनमा ओलीले अध्यक्षका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् ।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us