
काठमाण्डु, २३ जेठ – नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले आफ्नो पार्टीले अघि सारेको गोलमेच सम्मेलनको मागमा सरकार गम्भीर नभएको बताएका छन् ।
कम्युनिस्ट अगुवा स्व. भक्तबहादुर श्रेष्ठका संकलित रचनाहरुको शुक्रबार राजधानीमा विमोचन गर्दै उनले सरकार गम्भीर नभएकाले आन्दोलनमा जाने चेतावनी दिए ।
‘हामीले राजनीतिक निकासको लागि प्रधानमन्त्रीसाग भेटेर सर्वपक्षिय राजनीतिक सम्मेलनबाट निकास खोजौं भनेका थियौं, वैद्यले भने, ‘हुन्छ भन्नुभएको थियो तर त्यसलाई गम्भीरतापूर्वक लिएको देखिएन ।’
वैद्यले सच्चा माओवादीलाई बेवास्ता गर्दै बनेको संविधानसभाले जनताको पक्षमा संविधान नलेख्ने दाबी गरे । सर्वपक्षीय राजनीतिक सम्मेलनमा सबै बसेर नयाँ निकास खोजौं भन्दा नसुनिएकाले आफूहरु नयाँ आन्दोलनको तयारी गरिरहेको वैद्यले बताए ।