टेलिकमले ल्यायो लोडसेडिङमा पनि चलाउन मिल्ने राउटर

काठमाण्डु टुडे २०७१ जेठ २३ गते ११:४५ मा प्रकाशित

काठमाण्डु, २३ जेठ – जेठ नेपाल टेलिकमले लोडसेडिङको समयमा पनि चलाउन मिल्ने राउटर ल्याएको छ ।

नेपालमा दिनप्रतिदिन बढ्दै गएको लोडसेडिङलाई ध्यान दिएर यस्तो राउटर ल्याइएको टेलिकमका डेपुटी म्यानेजर अनन्तमान सिंहले बताएका छन् ।

टेलिकमले सजिलो इन्टरनेट सेवा अन्तर्गत यो अफर ल्याएको हो । सिंहले भने, दिनप्रतिदिन इन्टरनेट ग्राहकहरु उपभोक्ताहरु बढ्दै छन् । फेरी लोडसेडिङ पनि बढ्दै छ । त्यसैले हामी बत्ति जाँदा पनि उपभोक्ताहरुले इन्टरनेट चलाउन पाउन् भनेर यस्तो राउटर ल्याएका हौं ।

सजिलो इन्टरनेट सिडिएमए थ्रीजी वाइफाइ राउटरमा उपभोक्ताले आफूसँग भएको डिभाइसमा राउटर राखेपछि तुरुन्तै वाइफाइ मार्फत इन्टरनेट चलाउन सक्छन् । राउटरले फालेको वाइफाइ ५ देखि ८ जनाले एकैपटक चलाउन सक्छन् । यसको स्पिड तीन एमबीपिएस हुने कम्पनीले जनाएको छ । सिंह भन्छन्, अति आवश्यक काम परेको बेला चलाउन सजिलो होस् भनेर ल्याइएको अफर हो । जहाँ जतिसुकै बेला पनि नेपालभरी चलाउन सकिन्छ ।

उनका अनुसार यो राउटरमा रिम कार्ड राखेपछि सिडिएमए थ्रीजी चल्छ । यसलाई ल्यापटप, डेस्कटप, ट्याब्लेट र मोवाइलमा समेत प्रयोग गर्न सकिन्छ ।

टेलिकमले व्याट्रीको क्षमता अनुसार विभिन्न खाले राउटर बजारमा ल्याएको छ। दुई हजार मिलिएम्प आवरदेखि ३५ सय मिलिएम्प आवर क्षमता भएका इनविल्ट व्याट्री राखिएको राउटरको मूल्य ५५ देखि ५९ सयसम्म पर्छ ।

उपभोक्ताले राउटर किन्दा रिम कार्ड सहित तीन महिनासम्म चलाउन सकिने ५ जिबीको डाटा पाउनेछन् । उपभोक्तासँग पहिले नै रिमकार्ड छ भने रिचार्ज गरेर २५ देखि १० जिबी सम्मको डाटा राउटरबाट प्रयोग गर्न सक्छन् ।

टेलिकमले तोकेको माथिका मूल्यमा भ्याट समावेश नगरिको जनाएको छ । उपभोक्ताले १४१५ मा bl र vl लेखेर म्यासेज गर्दा आफ्नो राउटरमा रहेको रिमकार्डमा कति व्यालेन्स र डाटा छ भनेर समेत जानकारी लिन सक्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us