बहुपहिचानका आधारमा सङघीयता निर्माण गर्न सभासदको जोड

काठमाण्डु टुडे २०७१ जेठ २२ गते १०:०९ मा प्रकाशित

काठमाण्डु, २२ जेठ – संविधानसभाको आजको बैठकमा धारणा राख्ने अधिकांश सभासद्ले जातीय र क्षेत्रीय आधारमा भन्दा पनि नेपालको आफ्नै मौलिकताका आधारमा सङ्घीय प्रणालीको विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

तत्कालीन राज्यको पुनःसंरचना र राज्यशक्तिको बाँडफाँट समितिको प्रारम्भिक मस्यौदामा भएका सहमति वा असहमतिको निक्र्योलसम्बन्धी प्रतिवेदन एवम् सोसम्बन्धी पूरक प्रतिवेदनमाथि भएको छलफलमा भाग लिँदै सभासद्ले सङ्घीयताका नाममा मुलुकलाई विखण्डन गर्ने होइन, सहमति कायम गर्नुपर्छ, केन्द्रिकृत राज्यलाई विकेन्द्रित गरी विभिन्न जातमा विभाजन गरेर अलगअलग सोचमा लैजाने काम गरियो भने त्यसले राम्रो गर्दैन भने ।

छलफलमा भाग लिँदै सभासद् शेरबहादुर देउवाले अघिल्लो पटक संविधान बन्न नसक्नाका कारण सङ्घीयता नै भएको तर्क गर्दै संविधानसभाको निर्वाचनमा जनताका सामु गरेको कबुलबमोजिम बहुपहिचानमा आधारित प्रदेश निर्माण गर्नुपर्नेमा जोड दिए ।

आफूले आफँैलाई असफल बनाउने तवरले प्रदेश निर्माण गर्न नहुनेमा जोड दिँदै उनले पछाडि परेका आदिवासी जनजाति, कर्णालीका जनतालाई सेवा प्रदान गर्न सङ्घीय प्रणालीको विकास गर्नुपर्छ भने । थोरैभन्दा थोरै प्रदेश बनाउनुपर्नेमा उनको जोड थियो ।

सभासद् युवराज ज्ञवालीले कुनै पनि मुलुकको अन्ध नक्कल गर्नेभन्दा आफ्नै विशिष्टतामा सबैले अपनत्व गर्ने गरी सङ्घीय प्रणाली स्थापना गर्नुपर्नेमा जोड दिँदै बहुपहिचानमा आधारित सात प्रदेश नै बढी वैज्ञानिक रहेको बताए । नेपाली जनतालाई बढी समृद्ध बनाउनका लागि सामथ्र्य र पहिचानमा आधारित प्रदेश बनाउनुपर्ने र जातीय क्षेत्रीय आधारमा भन्दा पनि भौगोलिक आधारलाई बढी ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

सभासद् हरिबोल गजुरेलले पहिचानका पाँच आधार र सामथ्र्यका चार आधारलाई बेवास्ता गर्न नहुनेमा जोड दिँदै आन्तरिक राष्ट्रिय एकतालाई सबल बनाउनका लागि सङ्घीयता आवश्यक रहेको धारणा राखे । राज्य पुनःसंरचाना आयोगको प्रतिवेदनलाई बहिस्कार गर्न नसकिने तर्क उनले राखे ।

सभासद् डा शिवजी यादवले समृद्धिको पाटोमा लैजाने प्रदेशहरु निर्माण गर्नुपर्नेमा जोड दिँदै सङ्घीयताका विषयमा ठूला दलले दम्भ देखाएको आरोप लगाए । सङ्घीयता विभिन्न आन्दोलनको देन भएको भन्दै उनले त्यसबाट पछाडि फर्कने कुरा गलत हुने छ भने ।

सभासद् भीमबहादुर रावलले सङ्घीयताको नाममा मुलुकलाई जातजातमा विभक्त गर्न नहुनेमा जोड दिँदै सामाजिक सद्भाव कायम राख्ने सङ्घीय प्रणाली अत्यावश्यक रहेको धारणा राखे । विसं २०५९ जेठ २ गते दलहरुका बीचमा प्रमुख दलबीच भएको सहमतिलाई ख्याल गरेर सार्वभौसत्ता र अखण्डतालाई ख्याल गरी सङ्घीय प्रणालीको विकास गर्नुपर्ने उनले जोड दिए । जातको नाममा राज्य बनाउन नहुने बताउँदै उहाँले बहुपहिचानमा आधारित बढीमा सात प्रदेश बनाउनुपर्छ भने ।

सभासद् डा शेखर कोइरालाले मुलुकको विशिष्टताको आधारमा सङ्घीयताको ढाँचा खोज्नुपर्नेमा जोड दिँदै प्रदेशको नामाङ्कनको जिम्मा प्रदेशलाई दिनुपर्छ, जातीय र राजनीतिक अग्राधिकार दिन हुँदैन भने ।
राष्ट्रलाई कमजोर बनाउन होइन, सबल र सक्षम राष्ट्र बनाउनका लागि सङ्घीयता आवश्यक छ भन्दै जातीय राज्य बन्न नहुने, देश टुक्र्याउने सङ्घीयता हुन नहुने, आत्मनिर्णय र अग्राधिकारको बहानामा मुलुकलाई पछाडि पार्न नहुने धारणा राख्ने सभासद्मा पुष्पलता लामा, मोहम्मद मन्सुर, मानप्रसाद घर्ती, गौरीकुमारी ओली, राजु खनाल, रञ्जुकुमारी झा, बबिता मोक्तान लावती र जगदीशनरसिंह केसीलगायत छन् । छलफल जारी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us