वातावरण दिवसमा विभिन्न व्यक्ति पुरस्कृत

काठमाण्डु टुडे २०७१ जेठ २२ गते ७:१८ मा प्रकाशित

काठमाण्डु, २२ जेठ – वातावरण दिवसका अवसरमा विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयले मुख्य सचिव लीलामणि पौड्यालसहित विभिन्न व्यक्तिलाई वातावरण संरक्षणमा योगदान पु¥याएको भन्दै पुरस्कृत गरेको छ ।

पुरस्कृत हुनेमा रु एक लाख राशिको वातावरण संरक्षण महिला पुरस्कार कीर्तिपुरकी शान्ता चौधरी,रु ७५ हजार राशिको वातावरण संरक्षण पुरस्कार वन उपभोक्ता महासङ्घ तेह्रथुमलाई र रु २५ हजार राशिको पत्रकारिता पुरस्कार पत्रकारद्वय सुबोध गौतम र माधव अर्याललाई प्रदान गरिएको छ ।

रु ७५ हजार राशिको वाग्मती सफाइ पुरस्कार पाउनुभएका मुख्य सचिव पौड्यालले सो राशि वाग्मती सफाइ अभियानमा १० वर्षदेखि क्रियाशील संस्था ‘नेपाल रिभर कन्जर्भेसन ट्रस्ट’ लाई प्रदान गरेका छन् ।

पुरस्कार समारोहमा बोल्दै उपप्रधानमन्त्री वामदेव गौतमले नयाँ संविधानमा वातावरण संरक्षणसम्बन्धी नीतिलाई समावेश गरिने बताएका छन् ।

जलवायु परिवर्तनका कारणले तापक्रम बढ्दै जाँदा बाढी, पहिरो, अतिवृष्टि, शीतलहरजस्ता समस्या देखिन थालेकाले वातावरणको संरक्षणमा आजैका दिनदेखि जुट्न सबैसँग उनले आग्रह गरे ।

वन तथा भूसंरक्षणमन्त्री महेश आचार्यले विसं २०७१ देखि २०८० सम्म दशवर्षे वन विकाससम्बन्धी विशेष कार्यक्रम ल्याउने तयारीमा सरकार लागेको जानकारी दिँदै प्रकृतिमा मानव जाति मात्रै नभई किरा, फट्याङ्ग्रासम्मका जीवले आफ्नो सुरक्षित जीवन जिउन सक्ने गरी वातावरण बनाइराख्नु मानव जातिको कर्तव्य भएकोमा जोड दिए ।

परस्कृत मुख्यसचिव पौड्यालले औद्योगिक राष्ट्रका कारणले वातावरण विनाश बढ्दै गएकोे बताउँदै त्यसको संरक्षणका लागि ती राष्ट्रले नै थप पहल गर्नुपर्ने भनाइ राखे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us