वर्षको सफा सहर हेटौंडा नगरपालिका

काठमाण्डु टुडे २०७१ जेठ २२ गते ६:१७ मा प्रकाशित

काठमाण्डु, २२ जेठ – वर्षको सफा सहर मकवानपुरको हेटौंडा नगरपालिका घोषणा भएको छ ।

नेपाल वातावरण दिवसको पूर्व सन्ध्या पारेर फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले बुधबार ललितपुरको यूएन पार्कमा आयोजना गरेको “सफा सहर घोषणा, राष्ट्रिय सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा सो सम्मान पाएको हो ।

नगरपालिकाले प्रथम पुरस्कार नगद ५ लाख सहित कदरपत्र पाएको हो । गत वर्ष पोखरा उपामहानगरपालिका प्रथम भएको थियो । उत्कृष्ट सफा सहर छनौटको आधार विभिन्न सूचक बनाइएको कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक डा. सुमित्रा अमात्यले बताए ।

मूल्याङ्कन कमिटीले फोहरमैला व्यवस्थापनमा ४० प्रतिशत, खानेपानी तथा ढल व्यवस्थापनमा ३५ प्रतिशत, प्रदुषण नियन्त्रणमा ५ प्रतिशत, हरियाली प्रवद्र्धनमा १० प्रतिशत र सौन्दर्य वृद्धिमा १० प्रतिशतको आधार मानेको थियो ।

त्यसैगरी उत्कृष्ट दोस्रो सहर सुनसरीको धरान नगरपालिका भएको छ ।  भक्तपुर नगरपालिकाले तेस्रो स्थान हात पार्न सफल भएको छ । दोस्रो र तेस्रो स्थान हात पार्न सफल सहरले क्रमशः३ लाख र २ लाख नगद सहित कदरपत्र र सम्मान पाएका हुन ।

गत वर्ष प्रथम स्थानमा भएमो पोखरा उपमहहानगरपालिका यस पटक दशौं स्थानमा झरेको छ । केन्द्रले गत वर्षबाट वातावरण संरक्षणमा योगदान पु¥याउने विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई सम्मान गर्ने परिपाटीको शुरुवात गरेको हो ।

कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव लिलामणि पौडेलले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा बेल्दै नेपाल सरकारका मुख्यसचिव पौडेलले वातावरण सफा राखे मात्र हामी सभ्य नागरिकको परिचय विश्वमा हुनेछ । हामीले वातावरण मैत्री व्यवहार गरेनौ भने हाम्रो दोस्रो पुस्ताले हामीलाई सराप्नेछन । हामीलाई हाम्रो अग्रज पुस्ताले सुन्दर नदी नाला हस्तान्तरण गरेका थिए । त्यसरी नै दिगो विकासलाई ध्यान दिदैं हामीले अन्तरपुस्तागत न्यायलाई जोड दिनुपर्ने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us