आपूर्तिमन्त्रीको टोली कुन्मिङ सम्मेलनमा भाग लिन प्रस्थान

काठमाण्डु टुडे २०७१ जेठ २२ गते १:५८ मा प्रकाशित

काठमाण्डु २२ जेठ – वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापाको नेतृत्वमा तीन सदस्यीय टोली दोस्रो चाइना साउथ एसिया प्रदर्शनी तथा २२ औँ आयात–निर्यात वस्तु मेला, कुन्मिङ सम्मेलनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेको छ ।

यही जेठ २३ देखि २७ गते सम्म हुन सम्मेलनमा टोलीले दुई देशबीच वाणिज्य तथा आपूर्तिका विषयमा द्विपक्षीय छलफल गर्ने वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासङ्घको संयोजकत्वमा ८० वटा प्रदर्शनीकक्ष रहनेछ ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह–प्रवक्ता दीपकराज पाण्डेले हस्तकलाका सामग्री तथा बुद्ध मूर्तिको प्रदर्शनी गरिने जानकारी दिए । नेपाली प्रतिनिधिमण्डलले व्यापार घाटा कम गर्न, चिनियाँ पर्यटक तथा चिनियाँ लगानी ल्याउने विषयमा छलफल हुने जनाएको छ ।

चिनियाँ सरकारको वाणिज्य मन्त्रालयको आयोजनामा हुन लागेको उक्त सम्मेलनमा दक्षिण एसियाका देशको सहभागिता रहने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us