डब्लुटिओले नेपालको व्यापार सहजीकरणमा सघाउने

काठमाण्डु टुडे २०७१ जेठ २१ गते १५:५३ मा प्रकाशित

काठमाण्डु, २१ जेठ– विश्व व्यापार सङ्गठन (डब्लुटिओ) ले नेपालबाट निर्यात हुने वस्तुहरूको व्यापार सहजीकरणमा सहयोग गर्ने जनाएको छ ।

नेपाल भ्रमणमा रहेका डब्लुटिओका महानिर्देशक रोबर्टो अजेभेडोले गैरभन्सार करको न्यूनीकरण तथा नेपालबाट निर्यात हुने वस्तुहरूलाई विश्व बजारमा लैजानका लागि पहल गर्ने बताएका हुन् ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापाले नेपालको ठूलो व्यापार घाटालाई कम गर्न डब्लुटिओले सहयोग गर्न तयार रहेको बताए ।

अतिकम विकसित राष्ट्रको समस्या बुझ्ने सिलसिलामा नेपाल आएका महानिर्देशक अजेभेडोले ती राष्ट्रको चुनौतीलाई सम्बोधन गर्न पहल गर्ने उल्लेख गर्दै त्यसका लागि प्राविधिक सहायता गर्ने बचन दिए ।

उनले आफ्ना उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा लैजान ब्रान्डिङ तथा गुणस्तरमा ध्यान दिनुका साथै आन्तरिक क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिए ।

राजनीतिक स्थायित्व र उपयुक्त आर्थिक वातावरण सिर्जना नगरी विश्व बजारमा प्रतिस्पर्धा गर्न नसकिने भएकाले त्यसतर्फ पनि नेपालले ध्यान दिनुपर्ने महानिर्देशक अजेभेडोको भनाइ थियो ।

उनले बुधबारै प्रधानमन्त्री सुशील कोइरासाग भेटवार्ता भेट गरे । विश्व व्यापार सङ्गठनका सर्वोच्च अधिकारीले नेपाल भ्रमण गरेको यो पहिलोपटक हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us