काँग्रेस सभापतिका हत्या आरोपीलाई सर्वश्वसहित जन्मकैद

काठमाण्डु टुडे २०७१ जेठ २१ गते १५:४६ मा प्रकाशित

राजविराज, २१ जेठ– सप्तरीको सारस्वर गाविस–६ निवासी नेपाली काँग्रेस गाउँ समितिका सभापति ५० वर्षीय इन्द्रनारायण यादवको हत्याका आरोपितलाई अदालतले सर्वश्वसहित जन्मकैदको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश रामप्रसाद अधिकारीको इजलाशले गोली प्रहार गरी हत्या गरेको ठहर गर्दै मधेसी जनअधिकार फोरमका क्षेत्रीय सदस्य सारस्वर गाविस–५ गौरा टोल निवासी ६२ वर्षीय ताराकान्त यादवलाई सर्वश्वसहित जन्मकैदको फैसला गरेको हो । आरोपित जिल्ला अदालतको आदेशमा २०६९ साल साउन ३१ गतेदेखि पुर्पक्षका लागि सप्तरी कारागारमा थुनामा थिए ।

जिल्ला अदालतका स्रेस्तेदार नवराज दुलालका अनुसार हत्या गर्न आदेश दिएको आरोपमा २०६९ असोज १६ गतेदेखि पुर्पक्षका लागि सप्तरी कारागारमा थुनामा रहेका सारस्वर गाविस–५ का ५२ वर्षीय राजेन्द्रप्रसाद यादव रिहा भएका छन् । फैसलाअनुसार सो मुद्दामा पुर्पक्षका लागि साधारण तारेखमा रहेका ताराकान्तका छोरा ३६ वर्षीय दीपेन्द्रकुमार यादवसहित अन्य नौ जना आरोपितले सफाइ पाएका छन् ।

गाविसको बजेट र उपभोक्ता समितिको विवाद तथा पूर्व रिसइबीका कारण भएको भिडन्तमा २०६९ असार २८ गते राति आरोपितले गोली प्रहार गरी इन्द्रनारायणको हत्या गरेका थिए ।

प्रहरीले २०६९ असार २९ गते आरोपितको घर खानतलास गरी १२ बोरको जोरनाले बन्दुक एक थान, १५ थान गोली र दुई थान खोकासहित आरोपित र उनका छोरा दीपेन्द्रकुमारलाई गिरफ्तार गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us